• सरकारको व्यवहारबाट त्यही पार्टीका मान्छे पनि दिक्क भएका छन् – कोषाध्यक्ष लक्ष्मी पाण्डे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० पुष २०७७, सोमबार १९:२३

    काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले हिजोको निर्वाचनमा नेकपालाई मतदान गर्नेहरु आज पछुताउन थालेको बताएकी छिन् ।
    उनले नेकपाको सरकारले जनतामाथि विश्वासघात गरेकाले मतदाताहरु समेत निराश भएको टिप्पणी गरिन् । ‘नेकपाले जनतालाई फकाएर मत लियो, जनताले पनि यो पार्टीले चाँहि केही गर्छ कि भनेर पत्याए तर परिणाम उल्टो आयो’ उनले भनिन् ‘ अब कुनै दिन निर्वाचन भयो भने उनीहरुको जनतामा जाने र मत माग्ने एजेण्डा केही पनि छैन, सधैं जनता झुक्किएलान् भन्ने कल्पना नगरे हुन्छ ।’ उनले मत फिर्ता गर्ने व्यवस्था भइदिएको भए धेरैले पहिले नै नेकपाप्रति आवाज उठाइसक्ने थिए भन्ने टिप्पणी पनि गरिन् । उनले सरकारको व्यवहारबाट त्यही पार्टीका मान्छे पनि दिक्क भएको बताइन् ।
    ‘सरकार बनेको तीन वर्ष पुग्न आँटेको छ, राम्रो काम गरेर देश र पार्टीको इज्जत राख्नुको साटो गलत काम गरेर सरकारले बदनामी मात्र कमाएको छ, अब जनता भनें सचेत हुनैपर्छ’ उनले भनिन् ‘ प्रधानमन्त्री केपी शर्मा ओलीका अन्धभक्तले त प्रतिनिधिसभा विघटन राम्रै भयो भनेका छन् तर सचेत नागरिकले संविधानको मर्ममाथि भएको खेलवाडको खुलेरै विरोध गरेका छन् ।’ उनले सरकारले जुनसुकै निकायमा पनि हस्तक्षेप गरेर आफ्नो अलोकतान्त्रिक कदम प्रदर्शन गरिसकेको पनि टिप्पणी गरिन् । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगिसकेकाले अदालतको निर्णयको प्रतिक्षा गर्नुपर्ने उनको तर्क छ ।
    ‘कोरोनाको महामारीमा सुरुमा जनता मरिरहेको बेला सरकारले के गरेको थियो भन्ने पनि देखियो, भाषणमा एउटा र व्यवहारमा अर्केै काम गर्नु सरकारको मुख्य कमजोरी हो’ उनले थपिन् ‘ संविधानविपरीत गरिएको प्रतिनिधिसभा भंगको निर्णय कांग्रेसले स्वीकार्नु हुँदैन, भोलि निर्वाचनमा जाँदा फाइदा होला त्यो बेग्लै पाटो हो तर कांग्रेस सधैं विधिको पक्षमा उभिनुपर्छ ।’ उनले कांग्रेसको शालीन प्रतिपक्षी भूमिकालाई सरकारले कमजोर ठानेर मनपरी गरेको समेत बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु