मरेको पनि छैन
जिउँदो पनि होईन
मर्न काल पनि नसकेको
बाँचेको पनि होईन।
घृणा र तिरस्कारको भट्टिमा
आफै जल्दै, गल्दै र थलिदै बाँच्न बिवश
जिउँदा सहिद।
ज्वालामुखी झैं बिस्फोट हुने योद्धा सहिद बने।
दन्दनाउँदा ताता लावा पिउने योद्धा
सहिद भए।
बैरिको छातिमा तिखा भाला रोप्ने योद्धा सहिद बनेर गए।
दुश्मनको क्याम्पमा दिउँसै धावा बोल्ने योद्धा सालिक बनेर ठडिए।
एउटै मोर्चामा मर्ने त मरेर गै गए
सहिद बने पुजनिय पनि भए
बाँच्नेहरु पनि छन्
अंगभंग हुनेहरु पनि छन्
मर्न पनि नसकेको बाँचेका पनि होईन
ती हुन जिउँदा सहिद।
हो जिउँदा सहिद
हिजोका सम्मानित योद्धा आज अपमानित किन भयो ?
हिजो उच्च मुल्यांकन गरिने योद्धा आज अपहेलित किन भयो ?
स्वार्थ उन्मुख राजनीतिले अवमूल्यन पो भयो कि ?
खोलो तर्यो लौरी बिर्सियो अनावश्यक पो ठान्यो कि ?
आवेग र संवेगको ज्वालामुखिबाट गुज्रीदै
कुण्ठा र ग्लानिले पिरोलिदै
शहरका गल्ली
सडकका पेटि र
भत्की ढलेको खण्डहरबाट
कहिले खुशिमा ङिच्च हाँस्दै
कहिले भक्कानिएर पिलपिल रुँदै
बाँच्न बिवश जिउँदा सहिद।
हो हजुर जिउँदा सहिद
मरेको पनि होईन
बाँचेको जस्तो पनि लाग्दैन
जिउँदा सहिद ।।
रामचन्द्र तिम्सिना
(आवाज)