रामचन्द्र तिम्सिना(आवाज)
वस्तु बिनिमयको युग लगभग अन्त्य जस्तै भैसकेको थियो।आधुनिकले सप्पन्न पुँजिवादी युगले बिस्तारै जरा गाढ्दै थियो।गाउँ घरमा आलो-पालो, अंईचो पैंचो, हारा-पर्म भने कायमै थियो।तर पनि नगद यानिकी पैसा अनिवार्य साधन जस्तै बनिसकेको थियो।
कुरो आज भन्दा लगभग ३५ बर्ष अघिको हो। त्यसबेला म कक्षा ३ मा पढ्ने ८ बर्षको नावालक नै थिए।
महंगाई अहिलेको जस्तो नचुलिए पनि नगद देख्न भने हाम्रो जस्तो ग्रामीण बिपन्न परिवारका लागि सहज थिएन।
दुहुनो भैंसी १५ सय देखि २ हजार सम्ममा पाईए पनि त्यत्रो नगद एकैसाथ कहाँबाट जोगाड गर्न सकिन्थ्यो र।
घरको ब्याउनी भैंसी तुहाएको हुनाले बर्खामा सेतो दहि दूध खान नपाए छोराछोरी कमजोर होलान र आफू पनि गलिन्छ भन्ने चिन्ताले बुबा पिरोलिनु हुन्थ्यो।पाखो बारिभरी घाँस प्रसस्तै हुन्थ्यो पाल्नको लागि खासै समस्या नभए पनि किन्ने कसरी भनेर बुबा चिन्तित हुनुहुन्थ्यो ।
असारको आधाआधी महिना तिर हुँदो हो छिमेकीको घरमा भैंसी ब्यायो र खर्सेतोको पातमा बिगौती बाढ्न ल्यायो।
पहिलेको चलन नै त्यस्तै थियो।असारको महिना दिनभरीको मेलापात पछि आमाबुबा घर फर्किनु भयो।अनि शुरु भयो मेरो बालहठ ।अरुको घरमा भैंसी ब्यायो हाम्रोमा पनि चाहियो भन्दै रुन थाले।बाबुआमाको मन न हो।
रुन कहाँ दिन्थे र ढाडस दिंदै मलाई भन्नू भयो बाबू हामी पनि भोलि ल्याउने हो।म निकै प्रफुलित भएर सुते।कहाँबाट कसरी ल्याउनु हुन्छ त्यो सब मेरो दिमागमा घुस्ने बेलै भएको थिएन।
नभन्दै भोलि पल्ट बिहानै आँगनमा लहिनो भैंसी बांधियो।उत्साह ,उमंग र फुरुङ्ग भएर खुशिको कुनै सिमा नै रहेन।किनकी बाबुआमाले मेरो माग पूरा गरिदिनु भएको थियो।
बर्खा भरी दूध, दहि, घ्यु, महि पेटभरी खाइयो।
जब दसैंको टीका सकियो एका बिहानै बुबाले बोराको कुम्ले झोला खकने भिर्दै भन्नु भयो बाबू आमालाई धेरै नपिरेस है म अब पर्देश लागें।
एक्कासि मुटु भक्कानियो अंश्रुधारा बग्यो आकाश खसे जस्तो लाग्यो धर्ती भासिए जस्तो लाग्यो।गला बस्यो रुन सकिन एकोहोरो आँशुको भेल मात्रै बगिरह्यो।
पुष महिनाको अन्तिम मसन्ताको दिन आमाले टुकिको साहरामा बुबालाई लेख्दै गरेको चिट्ठी हेरें।हजुरले पठाउनु भएको पैसाले भैंसिको तिर्न नपुग्ला जस्तो छ मैले कानमा भएको ढुंङ्री साहुकोमा बन्दगी राखेर ५ सय ॠण काढेको छु।जमानमा बेईमान गर्नु हुँदैन भोलि बिहान त जसरी पनि बुझाउनु पर्छ।
आजसम्म पनि पुस मसन्त र माघे सक्रान्ती आउने बित्तिकै ती पुराना दिन र भैंसी अनि आमाको बुच्चो कान झलझली सम्झन्छु अनि आफ्नो ती अवोध बालहठलाई धिक्कार्छु।
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सिधै बैकुण्ठ जाला।