काठमाडौं । १२ जना महिला उद्यमीहरु ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित भएका छन् । आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो ।
न्यू बिजले मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्याए बापत ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ भने साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ ।
त्यसैगरि, कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ ।
किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणा ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् ।
यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/ १ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । ‘इमर्जिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेश स्थित एक÷एक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मानित गर्ने क्रममा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाल, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारी, बागमति प्रदेशबाट रिजाल प्लास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारी सम्मानित भएका छन् ।
न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित भएको थियो । दुई भाग गरि सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरण गत वर्ष नै सम्पन्न भइसकेको र दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको न्यु बिजले जनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजना भएको पनि न्यु बिजले उल्लेख गरेको छ ।
दोस्रो चरण अन्तर्गत गत शुक्रबार उक्त समारोह आयोजना गरिएको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्री (एफएनसीसीआई), महिला उद्यमी संघ नेपालको आयोजनामा (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) सहयोगी साझेदारका रूपमा थिए ।
यस्तै निम्बस समूह (ब्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाईनान्स, रिलायबल लाईफ ईन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रुपले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन् ।उक्त कार्यक्रमलाई सम्बन्धीत १० वटा जिल्लाका चेम्बर तथा उद्योगहरुले पनि सहयोग गरेका थिए । यस्तै, यस कार्यक्रमको अफिसियल टीभी प्लाटफर्म डिसहोम रहेको थियो।