संखुवासभामा काँग्रेसको ‘गरिखाने अभियान’ सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २१ गते, बुधबार २०:४९

संखुवासभा, २१ माघ । नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभामा ‘गरिखाने अभियान’ सुरु भएको छ ।

नेपाली काँग्रेसको लगानी पूर्वाधार र रोजगार रोजगार दृष्टिकोण एवम् दिगो परियोजना विशेष समितिको आयोजनामा संखुवासभा क्षेत्र नं २ स्थित दिलकुमारी स्मृति सभा भवनमा नेपाल दलित सङ्घ क्षेत्रीय कार्यकर्ता भेला एवम् ‘गरिखाने अभियान’ सुरु गरिएको हो ।

विशेष समितिका सहसंयोजक एवम् नेपाली काँग्रेसका नेता दिपक खड्काको विशेष पहलमा भएको उक्त कार्यक्रममा विपन्न तथा गरिब जनताको आर्थिक उन्नती गर्दै सिङ्गो संखुवासभाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले सरकार मुलुकको विकासका लागि भन्दापनि सत्ताको लगाईँमा लागेको उल्लेख गर्नुभयो । “निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”–उहाँले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा गोविन्दराज पोखरेलले नेपालको समृद्धिको लागि युवालाई आत्मनिर्भर र कर्मशील बनाउनुपर्ने बताउनुभयो । “युवालाई कर्मशील र गरिखाने बनाएमात्र देशको विकास हुन्छ,”–उहाँले भन्नुभयो ।

अर्थविद् राजु नेपालले ‘गरिखाने अभियान’ अभियानले विपन्न जनतालाई सहुलियतपूर्ण ऋण दिएर आयआर्जनमा लगाउने भएकाले इच्छुक व्यक्तिले लाभ लिनसक्ने बताउनुभयो ।

नेपाली काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले समृद्ध संखुवासभा निर्माणका लागि गरिखाने अभियानलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु