प्रशान्ति एकेडेमीमा ४ दिने अभिभावक भ्रमण कार्यक्रम सम्पन्न, विद्यार्थीको प्रतिभाको कदर गर्ने प्रधानाध्यापक बास्तोलाको प्रतिबद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ३० गते, शुक्रबार १८:४३

काठमाडौं । बुढानीलकण्ठ १२ कपन मुस्कान चोकमा रहेको प्रशान्ति एकेडेमीले अभिभावक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
लामो समयको कोरोना महामारीपछि विद्यार्थी र अभिभावकलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिए । सोमबारदेखि सुरु भएको अभिभावक भ्रमण कार्यक्रम २०७७ एक हप्तासम्म चलाउने लक्ष्य राखे पनि शुक्रबार सार्वजनिक बिदा दिएकाले बिहीबार नै समापन गरिएको विद्यालयले जनाएको छ ।
माघ २६ गते सोमबार कक्षा ६ का विद्यार्थीहरुले नेपालका परम्परा र सांस्कृतिक सम्पदाहरुको प्रदर्शन गरेका थिए । त्यस्तै माघ २७ गते मंगलबार कक्षा ७ का विद्यार्थीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गरेका थिए । बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी गरिएको थियो भने बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गरेर भ्रमण सप्ताह भव्य र सभ्यरुपमा समाप्त भएको थियो ।
प्रदर्शनीको अवलोकनका लागि विद्यालयका अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, उप–प्रधानाध्यापकहरु, शिक्षकहरु, साथै वरिपरि समुदायका शिक्षाप्रेमीहरु, शुभचिन्तकहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । भ्रमणका क्रममा उपस्थिति सबै अतिथिहरुले विद्यालयको साथै विद्यार्थीहरुलाई हौसला बढाएका थिए । प्रदर्शनीमा आउने अभिभावक तथा विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट चिठ्ठा टिपेर उपहार दिने, किताब कापीका गाता (कभर), साना नानी बाबुहरुलाई मन पर्ने स्टिकरहरु, जन्मदिनको शुभकामना दिइएका शुभकामना कार्ड, टाटु मन पराउने विद्यार्थीहरुलाई टाटु बनाइदिने लगायत कार्यक्रम रहेका थिए ।
फाल्गुन ४ गते सरस्वती पूजामा खुल्ला गर्ने गरी विभिन्न उपहार पर्ने लक्की कुपन पनि सबै अभिभावकहरुलाई वितरण गरिएको थियो । उपहार १० जनासम्मले पाउने छन् । विद्यार्थीहरुको कामको प्रशंसा गर्दै प्रधानाध्यापक बास्तोलाले आगामी दिनमा पनि विद्यार्थीको कला र सीप बढाउने प्रकारका कार्यक्रम आयोजना गरिने बताए । उनले यस्तो कार्यक्रम वार्षिक रुपमा निरन्तर गरिने समेत जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु