ग्राण्डी अस्पतालले ‘इन्फेक्सन कन्ट्रोल’लाई विशेष ध्यान दिएको छ : एलडी महर्जन,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १ गते, शनिबार २०:५६

ग्राण्डी अस्पतालले ‘इन्फेक्सन कन्ट्रोल’लाई विशेष ध्यान दिएको छ : एलडी महर्जन,

नर्सिङ इञ्चार्ज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

भनिन्छ,हरेक अस्पताल राम्रो हुनका लागि त्यहाँको नर्सिङ व्यवस्थापन राम्रो हुनुपर्छ । अस्पतालमा जति राम्रो नर्सिङ व्यवस्थापन भयो त्यति नै विरामी चाँडो निको भएर घर फर्कन पाउँछ । हरेक अस्पतालमा विरामीको सेवामा डाक्टरभन्दा नर्स बढी खटिने भएकाले पनि नर्सको वानी, व्यवहार र कार्यशैली राम्रो हुनुपर्दछ । २४ सै घण्टा विरामीको प्रतक्ष्य निगरानीमा रहने नर्सलाई कसरी कामप्रति जिम्मेवारी बनाउने र विरामीलाई चाँडो भन्दा चाँडो निको बनाएर घर फर्काउने भन्नेबारे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी निकै सचेत देखिन्छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा २८ वर्ष निरन्तर सेवा गरेर जागिर अवधि बाँकी हुँदाहुँदै अवकाश लिएर ८ वर्ष पहिले ग्राण्डीको नर्सिङ ईञ्चार्ज बन्नुभएकी लालदेवी (एलडी) महर्जनले अस्पतालको नर्सिङ तालिमलाई विशेष जोड दिँदै आउनुभएको छ । अस्पतालमा हुने इन्फेक्सन कन्ट्रोललाई विशेष ध्यान दिनुपर्ने मान्यता राख्दै आउनुभएकी महर्जनले ‘क्लिन करिडोर’ को अवधारणालाई समेत अगाडि बढाउँदै आउनुभएको छ । ‘क्लिन करिडोर’ भनेको विरामीको उपचारका क्रममा डाक्टर तथा विरामीलाई चाहिने नयाँ सामान ल्याउने ढोका एकातिर र डाक्टर तथा विरामीले प्रयोग गरिसकेपछि नचाहिने फोहोर अर्को ढोकातिरबाट फाल्नु हो । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नर्सिङ क्षेत्रको विकासका लागि गरेको काम र आगामी योजनाबारे उनै महर्जनसँग गरिएको कुराकानीको सम्पादित अशं ।

ग्राण्डीले नर्सिङ क्षेत्रको विकासका लागि के कस्ता काम गरेको छ ?

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नीजि क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्था हो । यस अस्पतालले विरामीको उपचारका लागि विशेष योजना बनाएको छ । ग्राण्डीलाई तालिम र शिक्षण क्षेत्रमा अब्बल संस्थाका रुपमा अगाडि बढाउनका लागि विभिन्न संस्थाको सहकार्यमा नर्सिङ तालिम प्रदान गर्दै आएका छौँ । ग्राण्डी अस्पतालको इन्फास्टक्चर राम्रो भएको कारणले काम गर्न सहज भएको छ ।

नर्सलाई कस्ता तालिम प्रदान गर्दै आउनुभएको छ ?

हामीले नर्सिङ सँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहयोगमा नर्सलाई तालिम प्रदान गर्दै आएका छौँ । हामीले क्लिटिकल केयर नर्स एशोसियशन अफ नेपालसँगको सहकार्यमा क्लिटिकल केयर नर्स टेनिङ सुरु गरेका हौँ । निजी लगानीमा सञ्चालित अस्पतालले तीन महिने कोर्ष सञ्चालन गरेको पहिलोपटक हो । अहिलेसम्म हामीले चार समूहलाई उक्त तालिम प्रदान गरिसकेका छौँ । यस्तै, ग्राण्डीले क्लिटिकल केयर नर्स एशोसियशन अफ नेपालकै सहकार्यमा ६ महिनाको क्लिटिकल केयर टिचर्स टे«निङसमेत सञ्चालन गरिसकेको छ ।

नर्स तालिमबाहेक अरु कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, हामीले नर्सलाई इन्फेक्सन कन्ट्रोल नर्स ट्रेनिङ प्रोगाम समेत सञ्चालन गरेका छौँ । उक्त तालिमको अवधि ३ महिनाको रहेको छ । यस्तै, इन्फेक्सन कन्ट्रोल स्नटक्चर नर्स टेनिङ प्रोगामलाई समेत अगाडि बढाएका छौँ । आईसीयुमा कार्यरत नर्सका लागि दुईदिने बेसिक फर आइसीयु नर्सैस प्रोगाम समेत सञ्चालन गर्दै आएका छौँ । ग्राण्डीले आइसीयु नर्सिङ शिक्षण सिकाई हप्ताको एकपटक लिँदै समेत आएको छ । कन्टिन्यू नर्सिङ एशोसियशनको सहकार्यमा हामीले नर्सिङलाई चाहिने अन्य तालिमपनि प्रदान गर्दै आएका छौँ । जसले नर्सको सीप र दक्षतालाई तिखार्न मद्धत पुग्ने विश्वास हामीले लिएका छौँ ।

तालिमले नर्सलाई कस्तो सहयोग पुगेको छ ?

नर्सिङ तालिम केन्द्रका रुपमा ग्राण्डी अस्पताललाई अगाडि बढाएसँगै अस्पतालभित्रको सरसफाई, इन्फेक्सन कन्ट्रोल, क्लिन करिडोर, आइसोलेशन सेन्टर , सेपरेट वाथरुम भए नभएको सहजै जानकारी हुने भएकाले विरामी र डाक्टर तथा नर्सलाई सहज भएको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको ग्राण्डी अस्पताल विरामीको उपचारका लागि राम्रो छ । विरामीलाई समयमा नै रोग पत्ता लगाई विरामीलाई चाँडो निको बनाउने वातावरण ग्राण्डी अस्पतालले बनाएको छ । विरामीको सेवामा ग्राण्डी अस्पतालका नर्सहरु कटिवद्ध भएर लागेका छन् ।
धन्यवाद

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु