पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाका १० बुँदे माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १० गते, सोमबार १७:२२

काठमाडौं, १० फाल्गुण -कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले विभिन्न दशबुँदे माग अघि सारेका छन् । विभिन्न ३७ वटा संघसंस्थाले सोमवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न १० बुँदे माग राखेका हुन् । उक्त माग अघि सार्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान) नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), पाटा नेपाल, नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत छन् ।

उनीहरुले नेपाल घुम्न आउने विदेशी पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने विदेशी पर्यटकलाई ५ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन उनीहरूले सरकारलाई आग्रह समेत गरेका छन् । स्वास्थ्य प्रोटोकलको नाममा ५ दिन अनिर्वाय क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले पर्यटक आगमन प्रभावित बनेको व्यवसायीको भनाई छ ।

उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पत्रकार सम्मेलनका संयोजक एवं टानका अध्यक्ष खुमबहादुर सुवेदीले स्वास्थ्य प्रोटोकलमा ध्यान दिन तयार रहेको भन्दै त्यो मापदण्ड हटाउन आग्रह गरे । सरकारले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न चाहेको हो भने पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले अघि सारेको मागलाई तत्काल सम्बोधन गर्न उनले आग्रह गरे ।

त्यसैगरि नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले सरकारले पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले राखेको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । साथै, उनले राजनीतिक दलका नेताले कोरोनालाई बेवास्ता गर्दै लाखौंको भीड जम्मा गर्न मिल्ने सभा, समारोह आयोजना गर्न हुने भनि प्रश्न राख्दै व्यवसायीको राखेको जायज माग भने सम्बोधन नहुनु दु:खद भएको औल्याए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कि महासचिव सरिता लामाले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रम माझ डा. कर्ण बहादुर शाहीले धन्यवाद मन्तब्य दिएका थिए ।

यस्ता छन् दशबुँदे माग

१) ​७२ (बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।

२)​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।

३)​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने ।

४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

५)​कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।

६)​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

७)​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।

८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने ।

९)कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।

१०)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु