”
क्या जमाना आयो
“-
कस्लाई के भन्नू ?
कुटो बोक्दा इज्जत घट्ने
मोबाईल बोक्दा शान बढ्ने
मुखमा माड छैन कन्नोमा घ्यु
क्या जमाना आयो ।
महशुस गर्नुस आफैले
सुनसंग तौलिन थाल्यो सम्मान
पैसासंग जोखिन थाल्यो प्रतिस्ठा
छेपाराको टाउकोमा चमेलिको तेल
क्या जमाना आयो ।
ख्याल गर्नु भाको छकी छैन ?
पहिलै पिच्छे स्वार्थ
गौंडा पिच्छे भड्खालो
सहमतिमा सहवास आपत्तिमा बदमास
क्या जमाना आयो ।
कस्को बिश्वास गर्नु ?
एमबिसी धाउने महान
एमसिसी ल्याउने पनि महान
भित्र घात बाहिर रास्ट्रवाद
क्या जमाना आयो ।
चिन्न सक्नुपर्छ
हरेक बोलिमा छ अर्थ
हरेक शब्दमा छ स्वार्थ
भाषण नेपालीलाई पोषण बिदेशिलाई
क्या जमाना आयो ।
गहिरिएर बुझ्नुपर्छ
गाथा देशभक्तिका
ब्यथा पर्देशिका
भारुको बोली डलरको भाऊ
क्या जमाना आयो ।
अझै बुझ्नुस एकपटक
देशहितका नारा
पार्टी एकताका कुरा
देखाउने टालो माग्ने भाँडो
क्या जमाना आयो ।
थाहा छैन भने सुन्नुस
पार्टिको झगडा
कुर्सिको लफडा
खेल बिदेशिको खेलाडी हाम्रो
क्या जमाना आयो ।
क्या जमाना आयो ।
रामचन्द्र तिम्सिना
(आवाज)