काठमाडौं, २७ फागुन । मुलुकमा थप ९७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ०७० पुगेको छ ।
जसमा महिलाको संख्या ९६ हजार ५२६ (३५.०९ प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ५४४ जना (६४.९१ प्रतिशत) रहेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ११६ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ४२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ०७ हजार ९२२ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।