काठमाडौँ, २ चैत । समाजसेवी मञ्जु गुरुङले समाज रुपान्तरणमा संस्कार समाज नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
संस्कार समाज नेपालको तेस्रो वार्षिकोत्सवका अवसरमा आज पशुपति होटल सुन्धारामा आयोजना गरिएको कार्यक्रममा उहाँले संस्कार समाज नेपालले समाजमा अनुकरणीय कार्य गर्दै आएको बताउनुभएको हो । उहाँले संस्कार समाज नेपालले समाज रुपान्तरणका लागि गर्दै आएको कार्यक्रमहरुमा आफ्नो संस्थाको पनि सहभागिता गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता तथा ग्रीन सिटी अस्पतालका फाइनान्स डाइरेक्टर रेणुका गुरुङले संस्कार समाज नेपालप्रति गौरव बोध हुने गरेको बताउनुभयो । संस्कार समाज नेपालसँग जोडिने चाहना आफ्नो रहेको उहाँको भनाई थियो ।
संस्कार समाज नेपालकी अध्यक्ष एवम् समाजसेवी पशुपति गुरुङले वर्तमान परिवेशमा नेपाली समाजमा असल संस्कारको खाँचो रहेको बताउनुभयो । कोरोना भाईरसका कारण स्थगित गरिएको नियमित श्रृङ्खलाहरु र देशव्यापी महाअभियानहरु आगामी वैशाख ४ गतेदेखि पुनः सुचारु गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा संस्थाका संरक्षक सदस्य बुद्धिप्रसाद गुरुङ, सामाजिक अर्थशास्त्री उमेशकुमार श्रेष्ठलगायतले संस्थाको सफलताको कामना गर्नुभएको थियो । सोही अवसरमा संस्थालाई विशेष सहयोग गर्ने हङकङ निवासी समाजसेवी रेशम गुरुङलाई सम्मान गरिएको थियो ।