काठमाडौं, चैत २१ गते ।
सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे ।
पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता मध्यकी एक नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् । उक्त खेलकुदमा नयना सम्मिलित रुना प्रधान, स्टुती सिंह र रुबिना प्रधानको टोलीले स्वर्ण जितेको थियो ।
नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा सहभागिता जनाएका चार खेलाडी उपास्ती महर्जन, अनुसिया तण्डुकार, तेन्जिङ रायन र सेरेन सिंह पनि स्वस्तिश्री गुरुकुलमै अध्ययनरत छन् । १३ औं सागमा अनुसियाले रिलेमा कांस्य पनि जितेकी थिइन् ।
प्रशिक्षक शाक्यले इन्डोर हिटिङ पौडी पोखरी भएकाले बाह्रै महिना सञ्चालनमा आउने भएको हुँदा नयाँ खेलाडी उत्पादनमा बढी सहयोग पुग्ने बताउदै राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादन गर्नु आफ्नो लक्ष्य भएको बताइन् ।
मन्त्री श्रेष्ठले देशको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्यको एक खेलकुदलाई पनि प्राथमिकतामा राखी विभिन्न खेलको पूर्वाधार निर्माण गरेकोमा विद्यालय परिवारको प्रशंसा गर्दै धन्यवाद दिए ।
स्वस्तिश्री गुरुकुलका प्राचार्य डा. हिमलाल घिमिरेले विद्यार्थीलाई पढाइका अलावा खेलुकदमा पनि संलग्न गराउने उद्देश्यले विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, इन्डोर कभर्डहल, जिम हललगायतका संरचना पनि निर्माण गरिएको जानकारी दिए ।
स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले पौडी पोखरी निर्माण गर्न करिब १० करोड खर्च भएको बताउदै विद्यालय हातामा रहेका पूर्वाधार राज्यलाई आवश्यक परेमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
गजेन्द्र र पुष्पा पहिलो
नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे । १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोश्रोदेखि पाँचौ स्थानमा दौड टुंगाए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए । चौथो र पाँचौले समान ५–५ हजार नगद पुरस्कार हासिल गरे ।
महिलामा बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले निर्धारित दूरी तय गर्न १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिन् । सेनाकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोश्रो, एपीएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेश्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भए । महिलाले पनि पुरुष सरहनै नगद पुरस्कार जिते ।
विजेतालाई नेपाली कांग्रेसका नेता पूर्व मन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको सांसद् गगनकुमार थापाले उद्घाटन गरेका थिए । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा आएर टुंगिएको थियो ।
समापनका अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका बैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगरलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार पनि सम्मानित भए । पाँचैलाई दोसल्ला, कदरपत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो । बक्सिङका मगर भने स्वास्थ्यका कारण उपस्थित थिएनन् । उनको पुरस्कार बक्सिङका किशोर केसीले ग्रहण गरेका थिए ।