• आयुशलाई स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार १८:४३

    काठमाडौं, बैशाख २ गते ।
    बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन् ।
    कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र ४८ केजीमा श्री आदर्शका महेश आङथुपु तथा ५१ केजीमा अल्पाइन एकेडेमीका आयुश ढुंगेलले स्वर्ण जिते ।
    डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा भएको प्रतियोगिताको छात्रा ४० केजीमा कान्ति भैरवकी सुनिता मोक्तान, ४४ केजीमा तेज विनायककी श्रृष्टि लो तामाङ र ४२ केजीमा अल्पाइनकी प्रगति कुइकेलले आ–आफनो प्रतिद्वन्द्वीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
    विजेतालाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न १३ विद्यालयका ३० छात्र र १७ छात्रा खेलाडीले समान ३–३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
    प्रतियोगिताअन्तर्गत शुक्रबार एथलेटिक्स खेल मुलपानीमा हुँदैछ । छात्र÷छात्रामा ६–६ गरी १२ स्पर्धामा खेल हुने छ । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गर्न आयोजना गरिएको हो । पहिलो हुने खेलाडी छनोट हुने छन् ।

    तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल
    भोटेकोशी गाउँपालिकाको आयोजनामा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता बैशाख ८ गतेदेखि हुने भएको छ ।
    प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिमको सहभागिता रहने प्रतियोगिता व्यवस्थापन मुल समितिका संयोजक कुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
    विजेताले ३ लाख, उपविजेताले २ लाख, तेश्रोले १ लाख र चौथोले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगद प्रदान गरिने छ । विधागत उत्कृष्टतर्फ स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र प्रशिक्षकलाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ म्याच’ लाई २ हजार नगद पुरस्कार दिइने छ ।
    बैशाख ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भोटेकोशी गाउँपालिका वडा २ स्थित तातोपानी आधारभूत विद्यालयमा खेलाइने छ । आयोजक गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राष्ट्रिय खेल भलिबलसंगा जोडिन पाउँदा खुशी लागेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु