काठमाडौं, ११ वैशाख – काठमाडौँमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढेको भन्दै मन्त्रालयले कम्तिमा चार हप्ता लकडाउन गर्न सुझाव दिएको हो ।
नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको र भारतमा अवस्था भयावह भईसकेकाले काठमाडौं उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आएको यो सुझावबारे आज दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो ब्रिफिङ गर्ने छन् । प्रधानमन्त्रीले ब्रिफिङ सुनेपछि आवश्यक निर्णय लिने सक्नेछन् ।