धावक कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १४ गते, मंगलवार १९:११

काठमाडौं, बैशाख १४ गते ।
दौडिएर ७७ जिल्ला पुगिसकेका धावक रामसुन्दर कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्ने भएका छन् । गोदावरी नगरपालिका वडा २, गोदामचौरस्थित कार्कीटारमा आफैले आफ्नै जग्गामा निमार्ण गरेको हनुमान मन्दिर हातामा गदा निर्माण गर्न लागेका हुन् । कार्की सोही ठाउँका बासिन्दा हुन् ।
कार्की स्वयं र नातिनी आहाना आचार्यले हनुमान जयन्तीका दिन मंगलबार संयुक्त शिलान्यास गरे । कार्कीले ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि सबैको साथ र सहयोग भए १ वर्षमा निर्माण सम्पन्न गर्ने सोच बनाएको बताउदै निर्माण सम्पन्न गर्न करिब १५–२० लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।
‘दौडकै माध्यमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य हो । त्यो पूरा हुन नसके आफै लगानी गरेर भएपनि निर्माण सम्पन्न गर्छु ।’– कार्कीले भने ।
धावक कार्कीले धार्मिक बाहेक सामाजिक कार्य गर्ने क्रममा दोलखास्थित गौरीशंकर बाल गृह मावि, रौतहटका बाढी पीडित, कालीकोट रास्कोटमा रहेको प्रसुती अस्पताललगायतमा आर्थिक सहयोगका साथै जिन्सी पनि सहयोग गरिसकेका छन् । यि सबै कार्य दौडबाटै उठेको रकमबाट सम्भव भएको कार्कीले बताए ।
कार्कीले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं सिन्धुली ३ पटक, काठमाडौं–जनकपुर २ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन् । उनले काठमाडौंदेखि भारतको उत्तरप्रदेश तथा भुटानको फुन्सिलिङ पनि दौडेर ओहोर–दोहोर गरिसकेका छन् । उनले विभिन्न घरेलु प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु