पत्रकारीताको चुनौती र चरकको आइसियू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २० गते, सोमबार १६:२८

पत्रकारीतामा प्रवेश गरेको ३४ वर्ष भएछ । ‘पञ्चहरुले कुलो खाए’ भन्ने शीर्षकको मेरो पहिलो समाचार छपाइदिने आदरणीय युवनाथ दाइ (डेनमार्कका लागी महामहिम राजदूत युवनाथ लम्साल) यो क्षेत्रको मेरो पहिलो गुरु हुनुहुन्छ । जानि नजानि शुरुमै मिसन पत्रकारीतामा प्रवेश भएछ । नेपाल दुरसञ्चारको कर्मचारी हुनु अगाडि र पछाडि पनि योजना, नयाँज्योति, पृष्ठभुमि, जनादेश र नव नेपाली आवाजका विभिन्न अनुभवपछि एैक्यबद्धता शुरु गरेको पनि २० बर्ष पुग्न लागेछ । २०४७ मा सुचना विभागको प्रतिनिधि प्रेस पास लिइ स्वतन्त्र पत्रकार भएको पनि वर्षौ भएछ । यति वर्ष काम गर्दा न दाम, न नाम खासै तरक्की गर्न सकेको छैन तर, राष्टलाई योगदान पुर्याउने अठोटमा कत्ति पनि बिचलन आएको छैन ।

निलम शर्मा, पर्वतकुमार, सन्तोष शर्मा र प्रशान्त थापाका नाउँमा समाचार बनाउँदा होस् वा राजनैतिक लेखहरु लेख्दा होस् शुरुको जस्तो शिर्षक मलाई मन पर्न छाडयो । वर्गीय मिसन पनि शिष्टतापुर्वक हुनसक्छ भन्ने संस्कारबाट म प्रभावित थिए । शुरेश आलेको वर्गप्रतिबद्धता, कृष्ण सेनको सभ्यता र नारायण शर्माको शालिनताले मलाई केहि सिकाएको हो । मेरा सहपाठी महेश्वर दाहाललगायतका अन्य धेरै साथिहरुसँग पनि यसक्रममा संगत भयो । आदरणीय दण्डपाणी न्यौपाने (दिपेन्द्र शर्मा) डा. ऋषिराज बराल, तारा न्यौपाने दाइ, निमकान्त पाण्डे, इश्वरी वाग्ले, उदयराज गौतम, सुर्य भुसाल, बिष्णु भटराइलगायतसँगको संगतले केहि कुरा सिकियो । पछिल्ला दिनहरुमा गोविन्द आचार्य, ओम शर्मा, कमलेश डिसी केदार गौतम लगायतका साथिहरुसँग पनि केहि सहकार्य हुन पाए । तर नयाँ ढंगले जाने बाटो एैक्यबद्धतामार्फत पक्रियो ।

व्यवसायिक सम्बन्धका आधारमा विज्ञापन छापेर संस्थागत भुक्तानी लिनु बाहेक समाचार दिएर वा अन्तवार्ता लिएर पैसा माग्ने तथा नकारात्मक सिण्डीकेट बनाएर असुल्ने प्रवृतिलाई कहिल्यै अंगालिएन । सुखद संयोग नै हो की यसक्रममा हाम्रो टिमका सदस्यबाट पनि आचारसंहिता विपरीत काम भएको सुचना अहिलेसम्म आएको छैन ।

सहि पत्रकारीतामार्फत धनसम्पति जोड्ने कुरो संभव छैन । यो मेरो व्यक्तिगत अनुभूति हो । अर्को महत्वपुर्ण अनुभूति के हो भने लोकतन्त्र वा गणतन्त्र कागज र विधानमा आएपनि व्यवहारमा आएकै छैन । सुझाब र रचनात्मक आलोचनालाई दुश्मनीपुर्ण व्यवहार गर्ने प्रवृति अहिले पनि हाबी नै छ । नेता वा शासककाे भक्ति नगाएसम्म अहिलेपनि व्यवधान झेल्नैपर्छ । विधि, नीति र पद्धतिको कुरा गर्दा अहिले पनि कर्नरमा पारिएकै हुन्छ । जरो गाडेर बसेको सामान्तवादलाई आलोचना गर्यो की ठुँगाइमा परिहालिन्छ । व्यक्तिवाद र परिवारवादविरुद्व बोल्यो की भिन्न तरिकाले जिब्रो लर्बर पारिने खतरा छ । राष्ट्रिय स्वाधिनता भुत्ते भयो भनेर बोल्दा पनि डर छ ।

नेपालमा प्रयोग भएको नौलो खालको निरंकुशताका विरुद्व जुध्न र लड्न पनि चेतना, शैली र प्रविधि फरक ढंगले निख्खर हुन जरुरी छ । राजनीतिमा बढन थालेको डेढ अक्कली उटपटयांगलाई सहि ठाउँमा ल्याउन पनि थप सक्रियता जरुरी छ ।

सामान्यतया र सतहमा हेर्दा, लोकतन्त्र वा गणतन्त्र आएको देखिन्छ तर, निर्भिक भएर खोज्ने, बोल्ने र लेख्ने स्थिति अझै छैन । लोकतन्त्र वा गणतन्त्रको बेजोड खिल्ली उडिरहेको वर्तमान स्थितिमा सञ्चारमाध्यमबाट जति बोले पनि सुनुवाई हुने स्थिति देखिएको छैन । एकातिर कोरोना कहर छ, अर्कातिर राजनीति फोहोर पारीएको गन्धै गन्धको डहर छ । योबीचमा कर्णाली प्रदेश, गण्डकी प्रदेशको आइसियु राजनीति (चरकको आइसियु) र पछिल्लो लुम्बिनी घटनाक्रमले लोकतन्त्र र बहुदलिय सभ्यताको मर्म खाइदिएको छ । दलहरुबीच, दलभित्रका गुट तथा स्वार्थ समुहहरुबीच र नेतृत्वको व्यक्तिगत अराजकताका टकरावबीच अस्वभाविक परिदृश्यहरु बढिरहेका छन ।

अहिलेको पत्रकारीता भनेको घटनाक्रम पस्केर पाठक, दर्शक वा श्रोताबीच पुर्याउने मात्र होइन, समाज र मानवीयताबीचको सेतु पनि हो । पत्रकारीता द्वन्द बढाउनका लागी हुँदै होइन्, सकेसम्म घटाउनका लागी गरिने बौद्धिक अभ्यास पनि हो । तर यहाँ सेतोलाई सेतो भन्ने वातावरण छैन् । कालोलाई कालोभन्दा कर्केनजरमा परिन्छ । तथापि पत्रकार र पत्रकारीता जगतबाट पनि यो आँट भएन भने मानवीय मुल्य मान्यताको ह्रास हुँदै जाने हुँदा अवरोध छिचोलेर सहि कुरा सम्प्रेषणको प्रयास गर्नै पर्दछ । पत्रकारीता पेशालाई मात्र होइन् जीवनलाई नै धरापमा राखेर प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रका लागी लडेका पत्रकारको तप्का अहिले पनि उत्तिकै जाँगरिलो छ । नेपालमा प्रयोग भएको नौलो खालको निरंकुशताका विरुद्व जुध्न र लड्न पनि चेतना, शैली र प्रविधि फरक ढंगले निख्खर हुन जरुरी छ ।

राजनीतिमा बढन थालेको डेढ अक्कली उटपटयांगलाई सहि ठाउँमा ल्याउन पनि थप सक्रियता जरुरी छ । लोकतन्त्रको शाश्वतता बिना प्रेस स्वतन्त्रता अर्थहिन हुन्छ । ‘सूचना सार्वजनिक सम्पति हो’ भन्ने यसबर्षको नारा पनि लोकतान्त्रिक अक्षुणतासँगै जोडिएको छ । जहाँ लोकतन्त्र निलम्बित हुन्छ त्यहाँको सूचना सभ्यता सापेक्ष हुनै सक्दैन । गण्डकी प्रदेशको राजधानी पोखराको चरक अस्पतालमा भएको आइसियू राजनीतिले लोकतन्त्रको उपहास मात्रै गरेन, लोकतान्त्रिक गणतन्त्र पक्षधर हामी सबैलाई स्तब्ध पारेको छ । आज प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा लोकतन्त्र ट्रयाकमा ल्याउने चुनौती स्विकार्दै प्रण चाहीँ गरौ है मित्रहरु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु