प्रल्हाद दाहाल
राजनीति हरेक देशको मेरुदण्ड हो । कुनै पनि देशको विकास हुनको लागि त्यहाँको राजनीति सहि तरिकाले चल्नुपर्छ ।त्यहाँका जनता र नेताको सम्बन्ध राम्रो हुनुपर्छ । अनि मात्र देशको विकासमा टेवा पुग्छ । तर हाम्रो देशमा राजनीति र नेतालाई हेर्ने दृष्टिकोण नै नकारात्मक छ। राजनीति भनेको‘फोहोरी खेल’ हो भनेर अधिकांश मानिस यसबाट टाढै बस्न रुचाउँछन् । हाम्रो समाजमा नेता भनेका केही न केही व्यक्तिगत स्वार्थ बोकेका ‘चतुर’मान्छे भनेर हेर्ने गरिन्छ। हाम्रो देशका आम पढे लेखेका भलादमी बुद्धिजीवीहरु न आफू ‘नेता’ बन्न चाहन्छन न आफ्ना सन्ततिलाई नै बन्न प्रेरित गर्दछन । असल, राम्रा र पढेलेखेका मान्छेहरु कहिल्यै राजनीतिमा नआउनाले पनि हाम्रो देशमा यस्तो खालको समस्या आएको हो। पढेलेखेका र राम्रा मान्छे एकदमै कम मात्रामा नेता बन्न जान्छन्। देशको नेतृत्वमा नपढेका भ्रष्ट नेताहरुको बाहुल्यता भएकाले अहिले यस्तो ठूलो दुर्गति भोग्नु परेको छ। आज हाम्रो देश नेपालको मुख्य विडम्बना नै यहि हो।
एउटा असल नेतामा मुख्यत इमान्दारिता, निडरता, आदर्शता, बास्तविकता, र बौद्दिकता हुनुपर्छ । तर नेपालमा यी सबै गुणले युक्त नेता एउटै जन्मेका छैनन् भन्दा पनि हुन्छ । हाम्रो देशका अधिकांश नेताहरुमा आजभोलि माथिका पाँच मध्ये एउटै पनि गुण देखिँदैन । बरु त्यसको ठिक उल्टो अवसरवाद, अतिवाद, अराजकतावाद, गैरजिम्मेवारीपन, र भ्रष्टता जस्ता अनावश्यक राष्ट्रलाई घात हुने खालका गुण अहिलेका नेतामा देखिन्छन् । आजभोलि पहिलाको जस्तो ‘विचारको राजनीति‘ गर्ने नेता एकदम कम छन्। आम नेतामा वैचारिक इमान्दारिता हराउँदै गैरहेको आभास हुन्छ। आजभोलि यो अतिवादको राजनीतिले अराजकतावाद र गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको छ । आफ्नो निहित राजनीतिक स्वार्थको लागि अलिकति लचकताबाट सुल्झने समस्यालाई परालको आगो जस्तो बनाई पुरै देश र जनतालाई बन्धकी बनाउन हाम्रा देशका केहि अतिवादी नेताहरु उद्धत छन् । जनताको मत र लोकतन्त्रको उपहास गर्दै अन्य राष्ट्रको आशिर्वादमा देश र जनतालाई हदसम्मको अमानबिय संकटमा धकेलेका छन् । आम नेताहरुले जनताका छोरा छोरीहरुको भविष्य माथि खेलवाड गरिराखेका छन् । उनीहरु आफ्ना छोराछोरी राम्रो स्कुलमा पढाउने अनि आम जनताका छोराछोरीलाई पढ्नबाट बन्चित बनाई अनावश्यक राजनीतिमा ल्याई यता न उता बनाइनाले धेरै युवाहरु आज शिक्षाको कमिका कारण रोजगारी नपाउँदा पछुताएर बस्नु परेकोछ । आफ्ना छोराछोरी विदेश वा स्वदेशमा भए राम्रा निजि विद्यालयमा पढाउने अनि सरकारी स्कूल भने राजनीति गर्ने थलो बनाउनाले आम जनताका छोराछोरीहरुले राम्रो शिक्षा पाउन सकेका छैनन् । जनताका छोराछोरीलाई राम्रो पढाइको लागि पहल गर्न नसके पनि अनावश्यक राजनीतिमा लगाएर बिगार्ने काम नगर्दा हुने थियो । राम्रोसंग पढ्न पनि नदिने अनि रोजगारी पनि नदिँदा अनावश्यक जनताका छोराछोरीले दु:ख पाएका छन् । हिजो केही राजनीतिक दलले मौका पर्ने बित्तिकै आफ्नो राजनीतिक काममा ती सरकारी स्कूलमा पढ्ने गरिब जनताका छोराछोरीलाई जबरजस्ती लगेका कारण पढ्न नपाएका अनगिन्ती उदाहरणहरु छन् । आज उनीहरुको अनुसार काम नहुँदा आम जनताको मन चिडिएको छ । यी सब कुरामा सरकार मुकदर्शक बन्यो । यसले गर्दा पनि आम जनताले सरकारलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ ।
केहि यस्ता नेता थिए जसमाथि देश र जनताले ठूलो आशा राखेको थियो । तर अन्तत जहाँ जे नै भए पनि भनाइ र गराईमा ठूलो भिन्नता देखाएका कारण आज अब जनताको नजरमा कोहि पनि नेता असल छन् भन्ने लाग्न छाडेको छ ।आफ्नो पारिवारिक स्वार्थमा भूलि मानव अधिकारको खोलमा एउटा अपराधीको राजनीतिक पक्षपोषण गरेर अहिलेका नेताले आम युवालाई मात्र नभई सारा नेपाली जनताको आशा धरासायी बनाइदिए। त्यसैले एक ‘चतुर’ नेता हुनु एउटा कुरा हो भने एक सच्चा रूपमा ‘बौद्धिक’ नेता हुनु अर्को कुरो हो । एक ‘चलाख चुनाबी राजनीतिज्ञ‘ हुनु एउटा कुरो हो भने एलक ‘कुशल दुरदर्शी राजनेता‘ हुनु अर्को कुरो हो । तर बिडम्बना भन्नू पर्छ हाम्रोमा न बौद्धिक नेता भए न राज नेता नै कोहि बन्न सके । खाली आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त भएर सबै नेताले आम जनताको मनबाट विश्वास गुमाउँदै छन्।
हाम्रो देशका अधिकांश बुद्दिजीबिमा वैचारीक इमान्दारिताको कमि देखिन्छ र केहीमा बैचारिक बिचलन समेत बढेको पाइन्छ । सरकारको बढी आलोचना गर्ने अनी ‘गलत नियतवस राजनीतिक संकट निम्त्याउने आन्दोलनरत पार्टी र नेताहरुलाई थाहा हुँदा हुँदै खालि थमथमाउने काम मात्र गर्दा आन्दोलनकारी अतिवादी शक्तिलाई थप हौसला मिलेको देखिन्छ। ‘सही‘ र ‘गलत‘ के हो नछुट्याई एउटा ‘ निस्पक्छ‘ न्यायाधिश हुन तल्लिन छन् अधिकांश बुद्दिजीबिहरु। ‘आलोचना’ त्यो पनि ‘सरकारलाई’ गर्न धेरै सजिलो छ, हो ‘सरकार’ र ‘सरकारमा’ रहेका प्रमुख पार्टीहरुका केहि गल्ति छन् तर आन्दोलनकारी पार्टीका पनि केहि गम्भीर गल्ति हरु छन्। तर, खालि ‘सहमति गर’ भन्ने अनी सहमति को उपाय केहि नासुझाउने (ताकि आफु चोखो बन्न सकियोस) बुद्दिजीबिहरु लाई खै के भन्ने। नेताहरुले आफ्नो निहित स्वार्थको लागि आन्दोलन गर्ने गरेको थाहा हुँदा हुँदै केहि नबोल्ने बुद्दिजीबिहरुलाई केहि छैन। भन्नु यति हो कि ‘आलोचना‘ गर्ने हो भने कसको के ‘सहि‘ र के ‘गलत‘ त्यो बताउनु पर्यो। अनी खालि सहमति गर भन्ने मात्र हैन समाधान पनि सुझाउनु पर्यो। कुनै जात वा वर्ग वा सम्प्रदाय को निशानामा परिन्छ भनेर सत्य दबाउने काम नगरौं। बरु आफ्नो कलम दबाउनु बेस।
हामी नेपाली जनतामा शिक्षा र संस्कारमा ठुलो परिवर्तनको खाँचो छ। खालि पार्टी र नेतालाई मात्र गालि गर्ने अनी आफूचाँही त्यहि नेतासँग भनसुन गर्न हरदम तत्पर हुने प्रबित्ति जब सम्म रहन्छ तब सम्म नेपालको विकास जति बाहिर नयाँ देखिए पनि भित्र पुरानै हुनेछ। नियम कानूनको कतै सम्मान छैन। हुन त यो समस्या नेताहरु बाटैसुरु हुन्छ तर जनताले पनि खालि नेतालाई मात्रै आलोचना गर्ने अनि आफू मौका परे नियम कानूनको उल्लङ्घन गर्न हरदम तत्पर हुने परिपाटीले देश कहिले माथि उठ्दैन। अनी, लोकतन्त्र, मानब अधिकार, र अर्काको गरि खान पाउने अधिकारको कुनै मतलब नराखी केहि अराजक नेताहरुको पछि लागेर हामी आम जनता बन्द हड्ताल गर्ने परिपाटीलाई उक्साउनु हाम्रो सबैभन्दा ठुलो भुल हो। यसले हामी भएकोभन्दा पनि झन हामी पछि हुने छौं। विधिको शासनको साटो अराजकता बन्द हड्तालबाट देश र जनतालाई नै बन्धकी बनाइ आफ्नो माग पुरा गर्ने संस्कार रहेसम्म हाम्रो देश नेपाल जहिल्यै यस्तै रहिरन्छ । नेपालमा यस्तै गतिविधिले गर्दा लोकतन्त्रमा एकदम नराम्रो दूरगामी प्रभाव पार्दछ । यसबाट हामी आम जनता आफैले आफ्नो मतको शक्ति गुमाउँदै बिधिको शासनलाई कमजोर बनाउँने काम गर्दै छौं । जब सम्म हामी जनताले नेताहरुको ‘हो‘ मा ‘हो‘ मिलाउँदै सही र गलत नछुट्याई साथ दिँदा आज नेताहरुले हाम्रो देशको दुई तियाई बहुमतको सरकार ढालेर देशको यो हविगत बनाए । जबसम्म हामी सचेत बन्दैनौं तवसम्म हामी कहिल्यै पनि यी यस्ता नेताको पछि लागेर विवेकशील र उद्दमी नागरिक बन्न सक्दैनौं र नेपाल साँचो अर्थमा नेपाल कहिल्यै बन्न पनि सक्दैन । त्यसैले अब बेलैमा सोचेर सहि मुल्यांकन गरि देश र जनताको हितमा काम गर्ने इमानदार नेतालाई मात्र साथ दिई अगाडि बढाउने काम गरौं। यसमै हामी सबैको भलो छ ।