यो हो देश
यो हो देश सुवर्ण मण्डित धरा छानो छ संसारको
सजाएर सधै छ रात निलीमा विस्कुन चम्किएको
विहानी पछि स्वच्छ स्वेत हिमको घुम्टो यही ओड्दछ
पाखा पंखर जे जति जडि बुटी जंगल स्वयं गोड्दछ ।। १ ।।
फुलेकै छ गुराँस यि धर धरारंगिन भो जंगल
गर्छन ध्यान शिवालय छ शिवको दर्वार त्यो झल्मल
डाँफेको छ रमाईलो फुरुफरु नौ रंग कस्ले दियो
मयुरैहरु नाच्न फाँट छ यहाँ यो स्वर्ग जस्तै भयो ।। २ ।।
के के छन जति जिव जन्त महिमा तिन्को बताउ कति
गैडाले अब छेक भन्छ सहजै गोली परुन जे जति
हाती कुर्लिरहेछ नास्न अबलौ तैयार हौ दुष्टको
को हो भन्दछ कोइली पनि यहाँ खोला र नाला लुट्यो ।। ३ ।।
यस्तो अस्त र व्यस्त जीवन भरि गाडेछ कस्ले खिल
मान्छेलाई दिएर कष्ट अहिले आफू छ त्योढल्मल
देशैलाई दिएर बन्धक सधै गर्छु म साशन भनि
लागेकै छ अनेक ताकत लिई यौटा अधम त्यो पनि ।। ४ ।।
त्यस्तालाई उखेल्न सक्छु म स्वयं लागिरहे छु यहाँ
बोकी आज मशाल झोस्छु मुखमा उम्केर जाला कहाँ
यो मातृभूमी हो मुटु सरी सधै प्यारो छ यो आश्रम
जन्मि हुर्र्की बढेँ म गर्छु यसकै सेवा खन्याई श्रम ।। ५ ।।
शुभ विहानी
बाबाधामको कोसेली
११ जेष्ठ २०७८
शिव अधिकारी
बाबाधाम कोटेश्वर काठमाण्डौ