पछिल्लो २४ घण्टामा देशभरबाट ६,७१६ जना कोरोना संक्रमित मुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते, बुधबार १७:४२

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ६७१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९,०३० पिसीआर र ३२२ ऐन्टिजेन गरी १९३५२ नमुना परीक्षणमा ६७१४ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेको यो संख्या मंगलबारको तुलनामा झण्डै १९ सयले कमी हो ।

आज भक्तपुरमा ११३ ललितपुरमा २४१ र काठमाडौंमा ११३९ गरी उपत्यकामा १४९३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ६७१४ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबारको तुलनामा आज मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । आज थपिएका १४५ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६,८४५ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ६,७१६ जना निको भएका छन् । आज निको भएका ६७१६ जनासँगै नेपालमा हालसम्म ४ लाख ११ हजार ६०३ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७६.९ प्रतिशत हो ।

त्यसैगरी हाल देशैभरी १ लाख १७ हजार ७७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ८,४५७ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ६२० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६७१ जना र भेन्टिलेटरमा ४३४ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ८५३ पुगेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २९ लाख ७७ हजार ६५० वटा नमुना परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या २१ लाख १३ हजार ८० रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ६ लाख १४ हजार ११३ जनाले लगाएको मन्त्रालयको तथ्यांक रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु