• टानद्वारा फुड बैँक शुभारम्भ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०७:०१

    काठमाडौं – ४३ औ टान दिवस तथा चौधौ सगरमाथा दिवसको अवसरमा टानले फुड बैँक शुभारम्भ गरेको छ ।सो अवसरमा ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान) का अध्यक्ष खुम बहादुर सुवेदीले बजेट आउनु पुर्व टानको तर्फबाट संघिय सरकार समक्ष आफ्न मागहरु पेश गरिएको जानकारी गराउदै राज्यले पर्यटन उद्योगले व्यहोर्दै आएको सास्ती र यस क्षेत्रका मजदुरहरुका सकसलाई बुझ्ने प्रयत्न गर्नुपर्ने बताए । हाल देशको पर्यटन उद्योग इतिहासमै कठिन मोडमा आईपुगेको उल्लेख गर्दै उनले प्रदेश सरकारले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याए ।

    अध्यक्ष सुवेदीले टानबाट पर्यटन मजदुरहरुको गर्जो टार्ने प्रयत्न स्वरुप फुड बैँक शुभारम्भ भएको जानकारी दिदै पदयात्रा र पर्यटन सम्बद्ध सम्पूर्ण क्षेत्रका व्यवसायी लगायत शुभेच्छुकहरुले अप्ठ्यारो परिस्थितीका बाबजुद अभियानलाई सहयोग पुर्याउदै आएकामा धन्यवाद व्यक्त गरे । उनले जुन तहको सरकारले भए पनि पर्यटन व्यवसायीलाई २५ लाखसम्म सफ्ट लोन उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले सगरमाथा नेपालको पर्यटन विकासको महत्वपूर्ण हिस्सा भएको बताउदै यसको संरक्षणमा सबै एक जुट हुनुपर्ने बताए ।

    नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले सरकारसँग मजदुरको डाटा नरहेको र टानबाट पनि एकिन तथ्यांक नपाउँदा राहत उपलब्ध गराउन समस्या भएको उल्लेख गर्दै आफु पनि व्यवसायीक पृष्ठभुमीकै भएकाले पर्यटन व्यपसायीको हितमा काम गर्न हरमग्दुर प्रयत्नशील रहने बताए ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बोर्डले चाहेर पनि बिषम परिस्थितीका कारण काम गर्न नसकेको उल्लेख गर्दै बोर्डसँग प्रशस्त रकम छ भनेर नबुझीदिन सबैमा आग्रह गरे । साथै उनले गाउँपालिकाहरुसँग मिलेर कोभिड लगत्तै कार्यक्रम ल्याउने तयारीमा बोर्ड जुटेको जानकारी दिए ।

    कार्यक्रममा होटल संघ नेपालकी सिर्जना राणाले पर्यटन क्षेत्रको विकासका लागि रिसर्च, ट्रेनिङ र दिगो विकासलाई ध्यान दिनुपर्ने औल्याउदै सबै जना मिलेर अघि बढनुको विकल्प नरहेको धारणा व्यक्त गरिन ।

    सोटो नेपालका अध्यक्ष नारायण पराजुलीले टानले संचालन गरेको फुड बैँक निकै राम्रो र शुभ कार्य रहेको बताउदै कोभिड संकटमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    टानका निवर्तमान अध्यक्ष नवराज दाहालले टान स्थापनामा भूमिका खेल्ने टानका संस्थापकहरु प्रति कृतज्ञता व्यक्त गर्दै एकै दिन परेको टान दिवस र सगरमाथा दिवसले खुशी प्रदान गरेको उल्लेख गरे । साथै उनले हाल सरकार नभएको आभाष भएको बताउदै टानले शुभारम्भ गरेको फुड बैंकलाई सबैले साथ दिनुपर्ने राय राखे ।

    कार्यक्रम माझ पुर्व मन्त्री समेत रहेकी टानकी पुर्व अध्यक्ष यांकिला शेर्पाले २ बर्ष पर्यटक क्षेत्रको प्रबर्धनमा सरकारी खर्च नभइरहेको सन्दर्भ उल्लेख गर्दै हाल श्रमिकहरुलाई खाद्यान्नका अलवा आर्थिक सहुलियत दिनुपर्ने धारणा राखिन ।

    टानका पुर्व अध्यक्ष जेबि सिंहले मे २९ ले विश्वभर नेपाललाई चिनाउन ठुलो भूमिका खेलेको उल्लेख गर्दै हालसम्म आईपुग्दा एभरेस्टका कारण अन्य हिमालहरुको पनि प्रचार प्रसार हुँदै आएको बताए । साथै उनले प्रदुषण र ग्लोबल वार्मिङको बिषयमा ख्याल राख्दै वैज्ञानिक खोजलाई अघि बढनुपर्ने कुरा राखे । उनले गत बजेट मार्फत दिने भनिएको रकम ५-७ प्रतिशत मात्र दिइएको उल्लेख गर्दै रोजगारी दिएको भन्ने सरकारी दाबी समेत पारदर्शी नभएको बताए ।

    टानका पुर्व अध्यक्ष सुमन पाण्डेले सन १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहणले ठुलो अर्थ बोक्दै आएको स्मरण गर्दै यसले साहसिक पर्यटनको अवसरको ढोका खोलेको बताए । साथै उनले सन १९९० देखी सगरमाथाको वातावरणिय प्रभावको बिषयमा बहस चलेको र यसले नेपालको पर्यटन क्षेत्रको साँख धुमिल पार्ने चिन्ता बढदै नै गएको बताए ।

    टानका पुर्व अध्यक्ष दिपक महतले महामारीले सोचे भन्दा लामो समय असर पारेकाले सम्बन्धित क्षेत्रबाट राहतको लागि पहल हुनुपर्ने राय राख्दै बाँच र बचाऔ भन्ने भावनाका साथ टानको फुड बैँकको अवधारणा आउनु राम्रो पक्ष रहेको बताए । साथै अरु बेला लिने सरकारले महामारी जस्तो प्रकोपले निम्त्याएको परिस्थितीमा दिन सक्नु पर्ने धारणा राखे ।

    टानका पुर्व अध्यक्ष महेन्द्र थापाले टिम्स कार्डको काम छिटो सम्पन्न हुन सकोस भन्दै प्रदेश सरकारले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आशय व्यक्त गरे ।

    टानका पुर्व महासचिव मोहन लम्सालले टानले श्रमिकहरुलाई लक्षित गर्दै फुड बैंक संचालन गरेकोमा सर्हाना गर्दै पर्वतारोहणका श्रमिकहरुबाट कर उठाउने कार्य उचित नभएको धारणा समेत राखे ।

    कार्यक्रम माझ सगरमाथा आरोही जाङ्बु शेर्पाले गत मे १० तारिकमा आफुले सगरमाथाको शिखरमा टानको झन्डा फहराउन पाएकामा गौरव महशुश गरेको उल्लेख गर्दै कोभिड संक्रमण भएर निको भए लगत्तैको आरोहण बीच आफुले व्यहोरेका सास्ती बारे वर्णन गरेका थिए ।

    फुड बैँकका संयोजक चोलेन्द्र बहादुर कार्कीले स्वतस्फुर्त रुपमा सहयोग गर्ने क्रम बढेको जनाउदै टानले पारदर्शिता अपनाइ संग्रहित राहत वितरण गर्ने हुँदा अभियानमा जोडिएर मजदुरहरुको हितका निम्ती सघाउन आग्रह समेत गरे ।

    टानका कार्य समिती सदस्य ठाकुर सापकोटाले कार्यक्रममा उपस्थित भएर विचार सम्प्रेसण गर्दै मार्ग निर्देशन गरेको बताउदै उपस्थितीका लागि धन्यवाद दिए ।

    टानकी महासचिव सरिता लामाले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै पर्वतारोहीहरुलाई प्रोत्साहन गर्ने राज्य चुकिरहेको बताईन् ।

    ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ आयोजित भर्चुअल कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, सचिव डा. सिन्धु ढुङ्गाना, पर्यटन बोर्डका अधिकारी, टान कार्यसामितीका वर्तमान कार्यसमिती पदाधिकारी एवम् सदस्यहरु, पुर्व अध्यक्ष एवम् महासचिव, अन्य अग्रज पर्यटन व्यवसायी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु