चिलिमे कारिगर ३

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते, बुधबार १३:४६

शम्भु गजुरेल

पारी पुगेपछि कताकता मनको कुनामा आफ्नो घर छोडेर मुग्लान भासिएको वेदनाको चस्काले च्वास्स घोच्यो ,मन ले आँसु चुहायो तप तप घोडाले टाप बजायो टप्टप! आफ्नो आँगनमा जाडोको सुसेलीले बयली खेलेको छोडेर आएको शरीर वनवासाको सम्म तराईमा ओर्लिदा पसिनाले निथ्रुक्क थियो,परदेश भासिदाको अदृश्य पीडा सबै मानव मुहारमा आफ्ना निमित्त मुख बाएर बसेका हिंस्रक जन्तुको काल्पनिक बिम्ब झल्के झैँ लागेर पनि होला कतैबाट केही प्रहार नभएपनी भयको अव्यक्त भावमा अङ्गका तन्तुहरू काम्दै गरेको महसुस भैरह्यो धेरै बेर।
टाँगावालाको नातागत होटेल हुँदो हो सायद त्यही होटेलको आगनमा राखेको खाट देखाउदै तिल्चौडे पाराको नेपाली बोल्दै होटेल साहुले भन्यो ओ दाइ दिल्लीके गाडी रात्मे जान्छ ! यहि बैठ्नुस् रोटी उटी खाइलिनुस् ! बस यहि पर आउनी हो।
हल्लाखल्ला पसलहरूमा बज्ने गडवाली गीत अनि बेलाबेला खटिमा रुद्रपुर देहरदुन भनेर बोलाउने गाडीहरूतर्फ नजर दौदाउदै गर्दा साझको ७ बजेछ! दिल्ली जाने उतराखण्ड राज्य परिवहनको बस केही अगाडिको होटेल अगाडि उभियो।हामी नेपालमा टिकट काउन्टरमा टिकट काटेर आरामदायी बसमा सिटलाइ ढालेर सुतेर यात्रा गर्दै आएका तर यहाको बस सयौं बर्ष पुरानो झैँ लाग्ने अरु मानिस सगै हामी पनि चढ्यौं बसमा! तर बसका सीट देख्दा ४५ साल तिरको काठमाडौमा चल्ने मर्सिडिज डिब्बामा लामा सिट हालेर बनाए झैँ भान भयो। जो बस्यो उसैको सिट हुने भएकोले हामी पनि बस्यौ घुडाले अगाडि को सिटमा ठोसिएर दुख्ने एउटै सिटमा ४ जना बस्नुपर्ने रातिको यात्राको कल्पनाले झनै कहाली लागेर आयो।
केही बेरमै टिकट बोलो भाइ भनेर कन्डक्टर को आवाजले उता ध्यान तान्यो १५६ रुपैयाँ को दरले २ वटा टिकट काटेर ३४५ किमि टाढाको दिल्ली तर्फको यात्रामा प्रस्थान गरियो।
हरन नबजेपनी बसका सबै पुर्जाहरू एथेस्ट बजेका सुनिन्थे, वायु गतिमा गुडेको बस खटिमा रुद्रपुर छोडेर किच्छाको एउटा छाप्रोमा मुख जोतेर अडियो खाना खाने ठाउँ रहेछ।
दाल फ्राइ र ३,३ वटा तन्दुरी रोटी खाएर गल्लो पानी घुट्क्याइ सकेर पुनः यात्रामा लागियो। रातको चिसो हावाको थप्किले शरीर आनन्दित भएर हो वा थकानले हो निदाइएछ!बिहान को ५ बजे दिल्लीको आनन्द बिहार बस अड्डा पुगेर सबै नेपाली बलवान् पाखुरा बोकेको बस रोकियो। बिहान सूर्य न उदाउदैको अध्यारो विरानो ठाउँ अनेकौं ठगीको व्यथा सुनेको मन शंकाको जन्जालमा जेलिएकै थियो, कहाँ जाना हे आओ भन्ने आवाज सहित झोला समाउन आएको मानिस देख्दा सबै डाँका जस्तो लाग्थ्यो। लामो यात्रा पछि हुने थकान र मुत्र बिसर्जनको चापले गलित देह, जब ठाउँ ठाउँमा बनेका पिसाब मात्रै गर्न मिल्ने सौचालय देखियो फुर्ती बढेर आयो! निष्कासन कार्य सकेर सबै खाले भय लाई जबर्जस्ति पन्छाउदै दक्षिणी दिल्लीको छत्तरपुर जानको लागि तिनपाङ्रे ट्याम्पुलाइ २५० रुपैयाँ दिने कबुलनामा गरेर नयाँ साधन र अन्तिम गन्तव्य को यात्रा शुरु गरियो! मिर्मिरे उज्यालो र नवीन बिहानीको प्रतीक्षा गर्दै……….।

क्रमशः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु