राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंबाट पाँच लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते, बुधबार १८:१०

काठमाडौं-डा. महावीर पुनको नेतृत्वमा सञ्चालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले रु ५, ११,०००/-( पाँच लाख एघार हजार रुपैँया) सहयोग प्रदान गरेको छ । कोभिड १९ को वर्तमान महामारीको समयमा केन्द्रले कोरोनाका बिरामीहरूले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी केन्द्रले मानवीय सेवामा सह्राहनीय योगदान पुर्याएको हुनाले उक्त रकम उपलब्ध गराएको संघकी अध्यक्ष मीरा भट्टराईले जानकारी दिएकी छिन् । काठमाडौं जिल्लाका हस्तकला व्यवसायीहरुको सेवाका लागि समर्पित रहेको र मुनाफारहित संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न सहयोग गरिएको उनले बताईन्।

राष्ट्रिय आविष्कार केन्द्रले देशभरका अस्पतालमा उपचार गरिरहेका बिरामीको जीवन रक्षाका लागि प्रयोग गरिने उपकरणहरुको निः शुल्क मर्मत र जीवन बचाउने उपकरणहरू र त्यस्ता उपकरणहरूको मर्मत, भ्यान्टिलेटर आपूर्ति, अक्सिजन स्थापना जस्ता सेवाहरु प्रदान गरिरहेको छ ।

आफ्ना सदस्यहरुबाट स्वेच्छाले रकम उपलब्ध गराएकोमा उदारमन भएका सदस्यलाई हार्दिक धन्यवाद प्रकट गर्दै सदस्यहरुबाट सिधै संस्थाको खातामा जम्मा गरिएको रकमलाई राष्ट्रिय आविष्कार केन्द्रको खातामा हस्तान्तरण गरिएको जानकारी अध्यक्ष भट्टराईले दिइन् ।’हाल निषेधाज्ञा रहेकोले डिजिटल मार्फत रकम हस्तान्तरण गरेका हौ’ भट्टराईले जानकारी दिदै भनिन्’ ।

संघले हाल अस्पतालमा रहेर उपचार गरिरहेका कोभिडका बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको व्यहोरा संघद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु