काठमाडौं । फिलामेन्ट स्वयंसेवक समूह नेपालले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १० आकाशेधारामा आज पनि राहत वितरण गरेको छ ।
कोरोना भाइरसका कारण समस्यामा परेर दैनिकी चलाउन असहज भएका नागरिकलाई फिलामेन्टले राहत बाँडेको हो ।
निषेधाज्ञाको कारण दैनिक ज्याला,मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार बढी प्रभावित भएका छन् । संस्थाले ‘हुनेले दिने र नहुनेले लिने’अभियान अन्तर्गत केही दिनदेखि राहत वितरण गर्दै आएको समाजसेवी एवम् अभियन्ता अक्कल बहादुर तामाङले जनाए । अभियानले अहिलेसम्म झण्डै २ सय परिवारलाई राहत वितरण गरिसकेको छ । ‘हाम्रो संस्था सामाजिक हकहितमा काम गर्ने भएकाले यो बेला केही गर्नुपर्छ भनेर सक्रियता देखाएका हौं’ तामाङले भने ‘सरकार, सम्वन्धित सरोकारवाला र यस्तै प्रकारका सामाजिक संघसंस्थाको सहकार्यमा नागरिकलाई आइपरेको समस्याबाट मुक्ति दिलाउनुपर्छ ।
अक्कलबहादुर तामाङले अभियानलाई निरन्तर रुपमा सक्रिय बनाउन समाजसेवी जगत बहादुर तामाङले गर्दै आएको सहयोगको प्रशंसा गरेका छन् । समाजसेवी जगतबहादुर तामाङले आफ्नो तर्फबाट निःशुल्क रुपमा खाद्यान्न सहयोग गर्दै आएका छन् । जगतबहादुरले अभियानलाई ६६ हजार रुपिँया सहयोग जुटाइदिइसकेका छन् । अक्कलले अभियानमा निःस्वार्थ रुपमा धेरै सहयोगी दाताको पनि उत्तिकै भूमिका रहेको स्पष्ट पारेका छन् ।
उनले अभियानमा सहयोग गर्नेहरुलाई हार्दिक सम्मान व्यक्त गरेका छन् ।
अभियानलाई सहयोग गर्न चाहनुहुने दाताहरुले कृष्णमाया तामाङ ९८५११५१८१६ र सुदर्शन वस्नेतलाई ९८४१४४३०३९ मा सम्पर्क गर्न सकिने पनि अभियानले जनाएको छ । यो असहज अवस्थामा कसैको दैनिकी समस्यामा परेको भए माथिका नम्वरमा सम्पर्क गर्न पनि अभियानले आग्रह गरेको छ ।