काठमाडौं । सबैले आफूलाई नै फाइदा हुने गरी काम गर्छन्, थोरैमात्र मान्छे आफ्नो सम्पत्ति र समय सकेर अरुको हितमा समर्पित हुन्छन् । यसरी अरुकै लागि काम गर्दागर्दै समाजमा एउटा पृथक परिचय बनाएकी छिन् समाजसेवी राजेश्वरी श्रेष्ठले ।
उनी निस्वार्थ रुपमा नै जनताको सेवामा लाग्छिन्, जसबाट उनी निकै खुशी छिन् । अप्ठेरो परेका नागरिकलाई सहयोग गर्न पाउँदा उनमा खुशीको अनुभूति हन्छ ।
कोभिड १९ का कारण दोस्रो निषेधाज्ञा भएका बेला आफ्नो ज्यानको प्रवाह नगरी दिनदुःखीको सेवामा अहोरात्र खटिने व्यक्ति हुन् राजेश्वरी श्रेष्ठ । वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञाका कारण ज्याला मजदुरी गरी छाक टार्ने गरेका मानिसहरुको दैनिकी संकटग्रस्त भएपछि त्यो पीडा सहन नसकी उनले मन फराकिलो पारेकी हुन् । उनले कति असहायलाई कति बोरा चामल र अन्य आवश्यक खाद्य सामग्री अहिलेसम्म वितरण गरें भन्ने उनलाई हिसाबै छैन । अभियन्ता श्रेष्ठले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा राहत स्वरुप खाद्यान्न वितरण गर्दै आएकी छिन् । उनले भृकुटीमण्डप, कोटेश्वर, सामाखुशी, बालाजुलगायतका ठाउँमा राहत स्वरुप खाद्यान्न वितरण गरेकी छिन् । उनले विशेष गरी महिला, बालबालिकाका साथै अशक्त र अपांगता भएका व्यक्तिलाई जोड दिएकी छिन् । राहत पाउनेहरुले उनको कामको उच्च मूल्यांकन गरेका छन् ।
उनले गोरखासहित केही जिल्लामा अत्यावश्यक औषधी पनि वितरण गरेकी छिन् । ‘शहरमा धनीधनी मान्छे छन् तर उनीहरूको मन भने धेरै साँघुरो रहेछ, धनीले मन फुकाएर सहयोग गरेको भए निषेधाज्ञामा कोही भोको पर्दैनथे’उनी भन्छिन् ‘यो बेलामा सबैले आफ्नो तर्फबाट सहयोग गरे कसैलाई पनि संकट आउँदैनथ्यो, मैले जति काम गरेको छु त्यसमा खुशी छु, काम गर्ने तर धेरै प्रचार नगर्ने मेरो बानी छ ।’ उनले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेकी छिन् । यस्तै, व्यान्डेज, बेटाटिन, डिटोल, जीवनजल, सिटामोल र व्रोफिन, स्यानिटाइजर, म्याट, तन्ना, साबुन,ग्लोब्स, माक्स, र सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्री पनि वितरण गरेको जनाइएको छ ।