राजनीतिलाई व्यापारजस्तो सम्झँदा राजनीतिप्रति वितृष्णा बढ्यो– यूवा नेता सुनार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १९, शनिबार १९:५४

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनारले राजनीतिलाई पेशाजस्तो बनाएकोमा आपत्ति जनाएका छन् ।
नेपाल दलित विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत रहेका काठमाडौं ३ का महाधिवेशन प्रतिनिधि सुनारले राजनीतिमा देखिएको विकृतिले जनतामा राजनीतिप्रति गलत सोच हावी भएकोमा चिन्ता व्यक्त गरे । ‘राजनीति भनेको समाजसेवाका लागि हो तर यहाँ पनि नियत खराव भएका मान्छेको प्रवेश भएकाले व्यापारजस्तो रुपमा जनताले बुझे’ उनले भने ‘राजनीतिमा देखिएको विकृति, विसंगतिको अन्त्य गरेर यसलाई विशुद्ध समाजसेवा नै हो है भनेर प्रमाणित गर्नु अहिलेको चुनौती हो ।’ उनले राजनीतिमा सबै मानिस खराव मानिस नभएको तर केही मानिसको स्वभावका कारण जनताले आलोचना गर्ने बाटो पाएको स्विकारे ।
गत महाधिवेशनमा यो क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीति र समाजसेवालाई सँगसँगै लिएर अघि बढेका छन् । ‘अरु मानिस राजनीतिलाई जोड दिएको भन्छन् र आफ्नो स्वार्थका मात्र कुरा बढी गर्न सक्छन्, म भने समाजसेवाबाट बचेको समय राजनीतिमा लगाउँछु’ उनी भन्छन् ‘राजनीतिले जनताको मन जित्न सकिएन भने नेता भनेर मात्र सडकमा कुद्नुको कुनै अर्थ छैन, जबसम्म राजनीतिक कर्मीलाई जनताले पत्याउँदैनन् उसले राजनीतिबाट सन्यास लिए हुन्छ ।’


१३ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि भएको दाबी गरिरहेका उनले कोरोना भाइरसको कारण गत वर्ष भएको लकडाउन र यसपालि पनि गरी झण्डै ५ हजारलाई राहतस्वरुप चामल, दाल, चिनी, नुनलगायतका आवश्यक सामग्रीका साथै स्वास्थ्य सामग्री पनि वितरण गरेका छन् । उनले आफूलाई राजनीति गर्ने मान्छे भनाउन पनि आफ्नो दायित्व समाजप्रति रहेकोले त्यही लक्ष्य पूरा गरेको बताएका छन् । सुनार नै अध्यक्ष रहेको दुइवटा संस्था माइटी गरुडा च्यारिटेवल ट्रष्ट र दलित विद्यार्थी संघको आयोजनामा काठमाडौको जोरपाटीमा सहयोग केन्द्र स्थापना गरेर राहत बाँडिएको हो । उनले कार्यालयमा राहत लिन आउन नसकेकालाई घरै लगेर हस्तान्तरण गरेको पनि स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन आउँदै गर्दा उनले पार्टीमा देखिएका आन्तरिक कमी कमजोरीलाई सच्याएर कांग्रेस अघि बढ्नुपर्ने बताए । ‘राजनीति गर्ने अधिकार सबैलाई छ तर राजनीतिलाई दुषित बनाउने गरी कसैले पनि काम गर्नु भएन,मेरो यही आग्रह छ’ उनले भने ‘कांग्रेसभित्र आपसमा जुधेर जानुपर्ने छैन, महाधिवेशनमा धेरै पद सिर्जना भएकाले स्वच्छ प्रतिस्पर्धा गरेर आफूलाई अब्बल सावित गर्नेतिर लागौं ।’ उनले यूवाको विचार र भावनालाई समेट्ने खालको कांग्रेस आजको आवश्यकता भएको स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु