१६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २३ गते, बुधबार ०८:०१

काठमाडौं । इटाली युरोपका विभिन्‍न सहरहरुमा जारी १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा तीनपटकको विजेता स्पेनलाई हराउँदै इटाली उपाधि नजिक पुगेको हो ।

लन्डनस्थित वेम्बले स्टेडियममा भएको खेलमा इटालीले स्पेनलाई टाइब्रेकरमा ४-२ ले हराएको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेट अतिरिक्त समयमा दुवै टोली १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको ६०औं मिनेटमा इटालीले सिर्जना गरेको आक्रमणबाट फेडेरिको चिसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटमा अल्भारो मोराटाले गोल फर्काएपछि खेल १-१ को बराबरीमा आएको थियो ।

टाइब्रेकरमा इटालीका म्यानुएल लोकाटेली र स्पेनका डानी ओल्मो पहिलो प्रहारमै चुकेका थिए । यद्यपि त्यसपछिका चारवटै प्रहारमा आन्द्रेया बेलोट्टी, लियोनार्डो बोनुसी, फेडेरिको बर्नार्डेस्की र जोर्गिन्होले गोल गरे ।

स्पेनका जेरार्ड मोरेनो र थियागो अल्सान्टाराले गोल गर्दा मोराटा चुकेपछि इटाली ४-२ ले विजयी हुँदै उपाधि जित्‍ने अभियानमा एक कदम अझै अघि बढ्यो ।

इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु