इटाली यूरो कपको च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २८ गते, सोमबार ०८:५०

काठमाडौं, असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो अबसर हो । यसअघि उसले सन् १९६८ मा उपाधि उचालेको थियो । दोस्रो पटक यूरो कपको उपाधि उचाल्न उसले ५० वर्षभन्दा बढी समय कुर्नुपर्यो । इटाली हालसम्म चार पटक यूरो कपको फाइनलसम्मको यात्रा गरेको छ । सन् २००० र २०१२ मा इटाली फाइनलसम्मको यात्रा तय गरेपनि उपाधि जित्न सकेको थिएन ।

उता इंग्ल्याण्ड भने ३५ वर्षपछि प्रतियोगिताको उपाधि जित्ने सपना पुरा गर्न सकेन । घरेलु मैदानमा दर्शकको पूर्ण साथ र सहयोग पाएको इंग्ल्याण्डले सुरुवाती गोल गर्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । प्रशिक्षक गैरेथ साउथगेटको इंग्ल्याण्ड भने घरेलु मैदानमा इतिहास बनाउन पाएको अबसर गुमाउँदा निराश हुन पुग्यो । रोबर्टो मान्सिनीको इटालीले भने प्रतियोगिताको समूह चरणको सबै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु