काठमाडौं । संविधानसभाको निर्वाचनमा २०७० मा जुम्लाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा महासमिति सदस्य ललितजंग शाहीले पार्टीको जिल्ला अधिवेशन सहमतिमा गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले हालै एक विज्ञप्ती प्रकाशित गरी नेपालकै पुरानो पार्टी कांग्रेसले सहमतिमा नेतृत्व चयन गर्न सके सकरात्मक सन्देश जाने स्पष्ट पारेका हुन् । उनले निर्वाचनमा जाँदा आन्तरिक मतभेद बढ्ने र गुट उपगुटको संक्रीण घेराबाट माथि उठ्न नसकिने भएकाले पनि सहमतिमा नै जोड दिएका हुन् । उनले वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सहमतिमा नै भए पार्टीलाई एकताको शुत्रमा बाँध्न सजिलो हुने उल्लेख गरेका छन् ।
निर्वाचनबाट नेतृत्व छान्न लागे आन्तरिक द्धन्द्ध बढ्ने र त्यसले आगामी दिनमा हुने स्थानीय तहको, प्रदेश र संघीय निर्वाचनमा पनि असर पार्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनले सहमति र सहकार्यको अधिवेशन आजको आवश्यकता भएकाले सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई यही भावना अनुसार अघि बढेर पार्टीलाई एकढिक्क बनाइराख्न पनि सम्पूर्ण कांग्रेसजनमा अनुरोध गरेका छन् ।
जुम्लामा एउटा प्रतिनिधिसभा क्षेत्र, दुइवटा प्रदेश सभा, एक नगरपालिका, सातवटा गाउँपालिका र ६० वटा वडा रहेका छन् ।