
-वत्सराज कोइराला
नवलपरासी, हाल: हेटौंडा
१
कवि हूँ,एक्लै मनको रागमा रमाई रहेको छु !
आफ्नै पसीनाको दाल,भात,सागमा रमाई रहेको छु !!
दुनियाँको रंगमञ्चको एक जुनियर आर्टिस्ट म त !
समयले दिएका घाउका दागमा रमाई रहेको छु !!
२
उनले सुनुन्, नसुनुन् बोलिरहेको हुन्छु।
हृदयकाे प्रेम ढोका खोलिरहेको हुन्छु।।
बुझ्लिन् अवश्य पक्कै यी मूक शब्द मेरा।
हर्दम म प्रेम प्याला घोलिरहेको हुन्छु।।
३
मुस्कुराउने कारण पनि तिमी नै हौ माया !
रुवाउने कारण पनि तिमी नै हौ माया !!
संसारलाई रमाइलो तिमीले नै पार्छौ तर !
चोट खाने कारण पनि तिमी नै हौ माया !!
४
अनेकौं स्वप्न पालेर बसालेको शहर हो यो !
सँधै आनन्दले ज्यूने सबै खाले रहर हो यो !!
सबै छन् भोगमा लिप्त यो कस्तो उग्र तृष्णा हो !
हेर्दा अमृत झैं लाग्ने मीठो मीठो जहर हो यो !!
५
लोभी-पापी दुनियाँमा जिन्दगीको रीत रोयो !
विश्वासघातको जमानामा निस्सासिंदै प्रीत रोयो !!
नैतिकता,इमानदारी, सदविवेक हराउँदा !
हृदयमा शूल बिझी आज मेरै गीत रोयो !!


