आज बर्षातको पानी संकलन र उपयोगिताबारे वेबिनार आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ६ गते, बुधबार १०:०४

काठमाडौं, ६ साउन । बर्षातको पानीको ब्यवस्थापनको बारेमा सरोकारवाला निकाय र रुचि राख्ने व्यक्तिहरुलाई जानकारी दिने उद्देश्यले आज एक वेबिनारको आयोजना गरिदैछ ।

खानेपानी र सरसफाईको क्षेत्रमा आर्जित नवीन ज्ञान,सीप,अनुभव र प्रविधिलाई प्रयोगमा ल्याएर नेपालीलाई सुविधायुक्त,स्वस्थ्य,सुरक्षित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्थापित स्मार्ट वास प्रा.लि.ले काठमाडौं महानगरपालिका र स्मार्ट पानीको सहयोगमा आयोजना गर्ने उक्त वेबिनार शहरी क्षेत्रमा बर्षातको पानी संकलन र ब्यवस्थापनमा केन्द्रित हुने बताइएको छ ।

स्मार्टवासका अध्यक्ष ई. रामदीप साहले दिनुभएको जानकारी अनुसार शहरी क्षेत्रमा बर्षातको पानी संकलनः मुद्दा,चुनौती र आगामी कार्यदिशा विषयक वेबिनारमा भारतको चेन्नाईको रेन सेन्टरका निर्देशक डा. शेखर राघवनले शहरी क्षेत्रमा वर्षातको पानीको संकलनको आवश्यकता, औचित्य र महत्वको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

कार्यक्रममा स्मार्ट पानी प्रा.लि.का संस्थापक सुमन शाक्यले बर्षातको पानी संकलन र उपयोगिताको ब्यापारिक पक्षमा प्रस्तुति दिनुहुनेछ ।

त्यस्तै काठमाडौं महानगरपालिकाको नगर योजना आयोगका सहविज्ञ जयश्री राजभण्डारीले काठमाडौं महानगरपालिकाको अग्रसरतामा सुरु भएको काठमाडौं पुनर्भरण आयोजनाको बारेमा प्रस्तुति दिनुहुने भएको छ ।

कार्यपत्रहरुमाथि पूर्व सचिव ई.किशोर थापाले टिप्पणी गर्नुहुने कार्यक्रम छ ।

स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहको सभापतित्व र सहजीकरणमा हुने उक्त कार्यक्रममा पूर्वमन्त्री गणेश साह, ई.हरिप्रसाद शर्माले मन्तव्य दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमका आयोजक स्मार्ट वासका अध्यक्ष ई.रामदीप साहले यो कार्यक्रम अधिक पानी परेर बर्षातको समयमा डुवान र बाढीको समस्या झेलेका शहर र हिउँदको सुख्खा याममा खानेपानी पर्याप्त नपुगेर हाँहाँकार पर्ने शहरी क्षेत्रका लागि निकै उपयोगी हुने बताउनुभएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरु, नगर तथा गाँउपालिकाका पदाधिकारीहरु र खानेपानीको बारेमा चासो राख्ने व्यक्तिहरुको सहभागिता हुने बताइएको छ ।

कार्यक्रम दिउँसो १ः३० देखि ३ :३० सम्म सञ्चालन हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु