• बजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १६:००

    काठमाडौं, २० साउन । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले केन्द्र र प्रदेशले आफूहरुलाई पर्याप्त बजेट नदिएको भन्दै काम कार्यन्वयनको आधारमा भुक्तानी हुनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बमले समयको आधारमा नभई कामको आधारमा बजेट छुटाइनुपर्नेमा जोड दिए ।

    बमले सरकारका तीन तहले जनताको जनजीविकाको विषयमा सम्बोधन नगरेको बताए । उनले भने,‘देशभरका जनता पार्टीको मात्र नभएर सबैको साझा हुन्, काखा र पाखा गरेर छुट्याउन पाइँदैन ।’

    उनले आफ्नो गाउँपालिकालाई छुट्याइएको साँढे दुई करोड रकमबाट कोभिड नियन्त्रण विपद्को लागि मात्र १ करोड रुपैयाँ बजेट खर्चिएपछि विकासको काम अगाडि बढाउन नसकेको स्पष्ट पारे । उनले कोरोना विपद्को कारण गाउँपालिकालाई साँढे ३ करोड घाटा लागेको खुलाउँदै भने,‘समयको आधारमा नभई कामको आधारमा बजेट छुट्याउनु पर्छ ।’उनले कैयौ स्थानिय तहमा कामै नभएर बजेट फ्रिज भएको समेत सुनाए । उनले प्रदेश सरकार र संघ सरकारलाई यसको बारेमा जानकारी दिएको बताए ।

    अध्यक्ष बमले आफ्नो गाउँपालिकालाई संघ सरकारमार्फत २४ करोड विनियोजन भएको उल्लेख गर्दै भने,‘संघले २४ देखि ३० करोड रुपैयाँसम्म दिन सक्छ, तर हामीलाई पर्याप्त दिइएन । बजेट निकासा दिने क्रममा पुरानो संचालन व्यवस्थाले कतै न कतै असर गरेको उनको भनाई थियो । जेठमा ल्याइने बजेट असार मसान्तमा जाने हुँदा करोडौं बजेट फ्रिज हुने सम्भावना बढी हुने बमले जिकिर गरे ।

    उनले सरकारलाई मुल समस्याको पहिचान गरी समाधानमा केन्द्रित हुन समेत आग्रह गरे । असाढ मसान्तसम्ममा ढिलो गर्दा बजेट फ्रिज हुने र डकुमेन्ट मिलाएर खाने विधिलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । फागुन महिनासम्ममा नै बजेट निकासा गरी सक्नुपर्ने उनको भनाई थियो ।‘अबको बजेट उत्पादनमुखि हुनुपर्छ,’ भन्दै उनले भने,‘बजेट उत्पादनमुखि हुनुपर्छ, वितरणमुखि बजेटले आर्थिक पक्ष बलियो हुँदैन ।’

    राजनितिक सिस्टम र बैचारिक हिसाबले अब देश अघि बढ्नुपर्ने उनको तर्क थियो । अबको बजेट निकासा गर्दा क्षति कम र उपलब्धी बढी हुने गरी विभिन्न निति अलम्बन गर्नुपर्ने बताए । शिक्षित वर्गले ढुंङ्गामुढा हानेर नभई विधि, विधान र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिदै भने अब विध्वंश होइन बनाउने गरी बढ्नुपर्छ ।’

    अध्यक्ष बमले कोभिड–१९ को महामारीमा ४० जना कोरोना संक्रमितलाई गाउँपालिकाले उपचार गरेको बताए । सामान्य लक्षण देखिएका नागरिकहरुलाई एउटा घरमा राखेर डाक्टर त्यही बोलाएर जाँच गरेको बताए । साथै गाउँपालिकाले त्रैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने गरेको समेत जानकारी दिए ।

    झण्डा देखाएर जायज माग पुरा हुनुपर्ने विधिको अत्न्य हुनुपर्ने उनको भनाई थियो । संघिय गणतन्त्र स्थापना गर्न युवाहरु अघि बढ्नुपर्ने उनको धारणा थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु