लकडाउन खुले पनि के स्वार्थले राहत बाँड्छन् कुँवर ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १७:०९

काठमाडौं । हजुरलाई नमस्ते परोपकारी अभियानका संयोजक समाजसेवी ताराबहादुर कुँवरले आज पनि लकडाउनपीडितलाई राहत वितरण गरेका छन् ।
उनले आज बिहान कीर्तिपुरको पाँगा पुगेर १० जना दृष्टिविहीनलाई राहत स्वरुप चामल, दाल, साबुनलगायतका सामग्री वितरण गरेका हुन् । दृष्टिविहीनहरुमध्ये धेरैजसो डान्स वार र दोहोरीमा बेलुकी गीत गाएर जीवनयापन गर्दै आएका थिए । कोरोनाको कारण उनीहरुको काम बन्द भएपछि उनीहरु संकटमा परेका थिए । उनले आफ्नै निजी निवासमा पनि कोरोना संक्रमणका कारण भएको लकडाउन र त्यसबाट प्रभावित अन्य ९ जनालाई पनि राहत उपलब्ध गराएका छन् । उनमा पनि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि उनले कोरोनालाई ख्यालठट्टाका रुपमा नलिन सुझाव दिएका छन् ।
उनले आफूलाई राष्ट्रको कुनै सम्मान चाहिएकाले यस्तो काम नगरेको बताएका छन् । ‘सरकारले कुनै दिन कामको मूल्यांकन गर्छ भने ठिकै छ नभए पनि आफू पछि हट्दिन ’ उनले भने ‘ सरकारले पटकपटक सम्मान गर्ने समाजसेवीले मेरो जति काम गरे भने पनि कोही नागरिकलाई कहिल्यै संकट पर्दैनथ्यो ।’ हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका निवर्तमान अध्यक्ष उनले गत वर्षदेखि अहिलेसम्म २५ सयभन्दा बढीलाई राहत बाँडिसकेका छन् । ‘कीर्तिपुरमा बसोबार गर्ने केही व्यक्तिलाई समस्या भएको थाहा पाएँ अनि आफैं त्यहाँ सम्पर्क गरेर गएँ र राहत बाँडेर आएँ’ उनले भने ‘लकडाउन केही खुकुलो भएको छ तर पनि अझै पनि धेरै मानिसलाई दैनिकी चलाउन गाह्रो भएको छ, यस्तो बेलामा भूमिका खेलेको हुँ ।’ कँुवरलाई कीर्तिपुरमा दृष्टिविहीन अर्जुन बोहोराले समन्वय गरेका थिए ।
उनले आफ्नो गाउँ काभ्रेको भुम्लु पुगेर पटकपटक राहत तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका छन् । उनले धेरैपटक चिकित्सकको टोलीलाई लगेर समेत स्थानीयको स्वास्थ्य चेकजाँच गराएका छन् । उनले केही समय रक्तदान अभियान पनि चलाएका थिए । ‘मसँग धेरै भएर बाँडेको होइन तर मेरो मन छ, बाँचुञ्जेल केही गरेर देखाउँ भन्ने हो ’ उनले भने ‘समाजसेवा गर्न पाउँदा मन पनि खुशी हुन्छ र पीडितलाई थोरै भए पनि राहत मिल्छ ।’
उनले आगामी दिनमा पनि निरन्तर यस्तो अभियान चलाइरहने जनाएका छन् । उनले कोरोनाका विरामीलाई उपचारको लागि अक्सिजन अभाव हुँदा अक्सिजन सिलिण्डर पनि खोजिदिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु