ओली सरकारले गरेका असंवैधानिक नियुक्ती खारेज गर्छौं, हामी जनपक्षीय काम गर्छौं : देवेन्द्र पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १७:२७

काठमाडौं,२५ साउन ।नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई/तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । उनले भने,‘सरकारले पूर्णता पाउँछ । आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाई भएको होईन । मलाई लाग्छ अबको दुई/तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्नेगरि राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामी जनपक्षीय काम गर्छौं ।’ उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सत्तपक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरु समेटिएको पनि जिकिर गरे । उनले भने,‘शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने कुरा गरिएको छ । त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाई छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए । त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाई छ । त्यस्तै, सुशासन कायम गरिने, आम जनसमूदायमा राज्य छ भन्ने अनूभुति दिनेगरि काम गरिने, भ्रष्टाचार नियन्त्रणको लागि उचित कदम चालिनेलगायत कुरा समेटिएको पनि पौडेलले जनाए ।

यसअघिको सरकारले गरेका असंवैधानिक नियुक्तीहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिनेपनि उनले जनाए । त्यस्तै, विकास निर्माण र राष्ट्रिय गौरवको आयोजनालाई पनि अघि बढाउने कुरा साझा कार्यक्रममा समावेश गरिएको उनले चर्चा गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु