पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार २६० जना कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १८:१०

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ पिसीआर र ४ हजार ६५६ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १५ हजार ४६२ नमुना परीक्षणमा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार बुधवारको तुलनामा आज संक्रमित हुनेको संख्या दुई सयले घटेको हो ।

आज काठमाडौंमा ८११, ललितपुर १९२, भक्तपुर १३० गरी उपत्यकामा ११३३ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या झण्डै २ सयले बढेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३४ हजार ८३६ जना होम आइसोलेशनमा र ३ हजार ३४२ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७३७ जना र भेन्टिलेटरमा १८३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै बिहीवार देशैभरी ५६ लाख ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ९९ हजार ४६० नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु