नेपाली काँग्रेसको महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार ०७:१८

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसको महाधिवेशनको नयाँ मिति तोकिएको छ । आज बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

काँग्रेसले वडा तहको अधिवेशन १८ भदौमा गर्ने भएको छ । यो समयबाट अधिवेशन सुरु गरेर मंसिरमा पूरा गर्ने गरी काँग्रेसले महाधिवेशन गर्न लागेको हो ।

यसअघि तोकिएको वडा तहको अधिवेशनको मिति कटिसकेको छ । भदौमा तय भएको महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति तोकेको हो ।

काँग्रेसले २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ । १८ भदौमा वडा अधिवेशन सकेर गाउँ तथा नगर अधिवेशन २७ भदौमा तोकेको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकका लागि तोकिएको छ ।

काँग्रेसको वडा तह देखि महाधिवेशनसम्म ३ महिना पूरा लाग्ने गरी कार्यतालिका बनाइएको छ । दशैं अगाडि जिल्ला अधिवेशन सक्ने र दशैपछि प्रदेश अधिवेशन गर्ने गरी मिति तोकिएको छ । छठ सकिएपछि महाधिवेशन गर्ने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु