• नेकपा माओवादी केन्द्रले आगामी पुषको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने मिति प्रस्ताव

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार ०७:२६

    ३१ साउन, काठमाडौँ ।नेकपा माओवादी केन्द्रले आगामी पुषको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ ।

    शनिबारदेखि शुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावअनुसार आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन आयोजना गरिने उल्लेख छ ।

    आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको हो । त्यसका लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाइनेछ । आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

    प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ । बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेश गरेका छन् । बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक, विधान संशोधनलगायतका अन्य प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ वटा समूहमा विभाजन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    आइतबार बिहान ११ बजेसम्म दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रीय सदस्यले आवश्यक राय सुझाव दिनुपर्नेछ । छलफलबाट प्राप्त हुने निष्कर्ष बैठकमा पेश हुने र आवश्यक संशोधनसहित पारित गर्ने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    बैठकका अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थितिको जानकारी गराउनुभएको थियो । उहाँले देशको परिस्थिति र पार्टीले खेलेको भूमिका र आगामी दिनमा निर्वाह गर्नुपर्ने कार्यभारका बारेमासमेत आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक आइतबार पुनः ११ बजे बस्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु