३२ साउन, काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेको बताइएको छ ।
विद्रोही तालिबान लडाकूहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ ।
स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छोडेको नाम नबताउने सर्तमा दुई वटा स्थानीय समाचार स्रोतलाई उद्धृत गरेको छ ।
स्रोतका अनुसार तालिबान लडाकूहरूको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् ।
उनका साथमा उनका नजिकका केही मानिसहरूले पनि अफगानिस्तान छोडेका छन् । उनीहरूका बारेमा विस्तृतमा केही बताइएको छैन ।
घानी सरकारका मन्त्रीहरूले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरूले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् ।
तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् ।
यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरू राजधानी काबुल प्रवेश गरेका थिए ।
तालिबान लडाकूहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिबान विद्रोहीहरूलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए ।
तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरूले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए ।
राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।”
तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरूले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए ।