ऋषि धमलाको नाकजत्रै मन पनि ठुलो छ’ : दमन रुपाखेती

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:२९

काठमाडौं, ७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् ।

हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।

हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताए । उनले एमाले पार्टी फुटेको र देउवालाई फाइदा भएको भन्दै गीत प्रस्तुत गरेका थिए । नेताहरुलाई व्यंग्य गर्दै उनले प्यारोडी गीत पनि गाएका थिए । दमनले ‘ऋषि धमलाको नाकजत्रै मन पनि ठुलो’ भएको बताए ।

यसैगरी, साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकिकृत हुनुपर्छ भन्दै कविता वाचन गरेका थिए । रिजालले अफगानिस्तानका जनतालाई छाडेर भाग्ने राष्ट्रपति घानी लगायतलाई व्यंग्य गर्दै ‘हामीलाई चाहिएको छ’ भन्दै अर्को कवितामार्फत तिखो झटारो हानेका थिए । उनले ऋषि धमलाले सारा दर्शकलाई टेलिभिजन वा अन्य कुनै मिडियामार्फत ‘गरमलाई ठण्डा र ठन्डालाई गरम’ बनाउने गरेको पनि उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै कलाकार श्रीकृष्ण सिंम्खडाले प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिडविरुद्धको खोपको प्रसंगमा क्यारीकेचर गर्दै हास्यव्यंग्य सुरु गरेका थिए । उनले एमसीसीको बारेमा पनि झटारो हानेका थिए । उनले केपी शर्मा ओलीको क्यारिकेचर गर्दै बालुवाटार छाडेर बालकोट जाँदाको कुरा कोट्याएका थिए । उनले ऋषि धमलालाई नेपालकै आइडोलोजी भएको पत्रकारको रुपमा चित्रण गरे ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि क्यारीकेचर गर्दै ब्यङग्य कसेका थिए । सिंम्खडाले ‘मेरो देशमा गणतन्त्र छ, त्यही भएर म दैनिक २५ रुपैयाँको पिसाब फेरेर घर फर्कन्छु’ कवितासमेत वाचन गर्दै गणतन्त्रप्रति व्यंग्य गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु