काठमाडौ ।जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।१५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ ‘बसाइ हिड्नेको ताँतीले’ गीत चर्चित छ ।
सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको थियो । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छन् ।