काठमाडौं । शैक्षिक परामर्शदाताहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पठाइदिने वातावरण मिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आग्रह गरेको छ ।
फेकनको प्रतिनिधिमण्डलले आज राज्यमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेर यसबारे आफ्ना धारणा प्रष्ट पारेको हो । फेकनका कोषाध्यक्ष अनिल शर्मा (पौडेल) ले आफूहरुले राज्यमन्त्री श्रेष्ठसँग भेटेर शैक्षिक परामर्शदाताको समस्याका साथै आफूहरुले भोग्दै आएको समस्याबारे जानकारी गराएको बताए । ‘हामीले राज्यमन्त्रीज्यूलाई भेटेर अहिले जे भइरहेको छ त्यो विषयमा प्रष्ट पारेका हौं’ उनले भने ‘हाम्रो मागमा उहाँ सकारात्मक हुनुभएको छ, प्रक्रिया मिलाएर सहजीकरण गरिदिने भन्नुभएको छ ।’ फेकनले जापान, अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षा लिन जाने चाहने हजारौं विद्यार्थीहरुको सबै प्रक्रिया भइसक्दा पनि ती देशले रोक लगाएकाले विद्यार्थी समस्यामा परेको भन्दै समन्वय र सहजीकरण गरिदिन राज्यमन्त्रीलाई आग्रह गरेको हो ।
फेकनले राज्यमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सीओइी पनि लिइसकेको र कलेजको शुल्क पनि बुझाइसकेको यो अवस्थामा विदेश पढ्न जान नपाउँदा झन् समस्या थपिएको स्पष्ट पारेको छ । फेकनले नेपाल सरकारले प्रदान गरेको कोरोनाको सबै प्रकारको खोप लगाएका विद्यार्थीलाई प्रक्रिया पूरा गरी ती सम्बन्धित देशबाट जारी गरिएको ‘भ्याक्सिन पासपोर्ट’ मा नेपाललाई पनि सहभागी गराउन कुटनीतिक पहल गरिदिनका लागि पनि राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरेको छ । लामो समयदेखि विद्यार्थीहरु ती देशमा अध्ययन गर्न जान नपाउँदा उनीहरु र अभिभावकमा आर्थिकसँगै मानसिक तनाव भएको पनि फेकनले राज्यमन्त्रीलाई जानकारी गराएको छ ।
अध्यक्ष बासु नेपाल, उपाध्यक्ष हेमन्तराज दुलाल, सचिव छबिन्द्र ओझा, कोषाध्यक्ष पौडेल र सदस्य सबिन खड्का रहेको फेकनको प्रतिनिधिमण्डले राज्यमन्त्रीसँग भेट गरेको थियो । यसअघि फकेनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग पनि भेटेर यसबारे जानकारी गराइसकेको कोषाध्यक्ष पौडेलले जनाएका छन् ।