विश्व आत्महत्या रोकथाम दिवस – २०२१ आत्महत्या ठूलो चुनौती बन्दै दैनिक १९ जनाले गर्छन आत्महत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १३:३३

गोपाल ढकाल, मनोविद्

विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम तथा यसका बारेमा जनचेतना फैलाउने उदेश्यले प्रत्येक बर्ष १० सेम्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आईएको छ । यस वर्ष ” Creating Hope through Action ” अर्थात
” कार्यको माध्यमबाट आशा जगाउ ” भन्ने नाराका साथ यो दिवस मनाईदै छ।

कोरोनाको महामारी तथा लामो लकडाउन र निशेधाज्ञाले मानिसको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका साथै धार्मिक , सास्कृतिक, आर्थिक लगायतका सबै पाटोमा असर पुर्याएकोछ । यसले सबै तह, तप्का, उमेर , वर्ग र समुदायका मानिसहरुलाई प्रभाव पारेकोछ। कोरोनाको संकटले मनोसामाजिक समस्या तथा विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरु समेत बढेर गएकाछन ।
कोरोना महामारीले आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह भन्ने खालका समचारहरु हिजोआज प्रशस्त सुन्नमा आउने गर्छन ।
आत्महत्या कोरोनाको महामारीले गर्दा मात्र भयावह भएको हो पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । कोरोनाको संकट पछि आत्महत्याको जोखिम भने बढेर गएकोछ ।
प्रकृतिक बिपत्ति तथा अन्य असहज र जोखिम पुर्ण अबस्थामा मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याको दर बढेर जाने जोखिम हुन्छ ।

आत्महत्या ठूलो चुनौती बन्दै

नेपालमा आत्महत्याजनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएकोछ । तथ्यांकले देखाए अनुसार नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ -१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आ.व. २०७५ – २०७६ मा ५,७५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए। जुन सरदर दैनिक १६ जना पर्न आउछ ।
आ.व.२०७६- २०७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्या ६२७९ रहेको थियो । जसमा दैनिक १७ जनाले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको देखिन्छ ।
यस आ.व २०७७/०७८ मा ७ हजार १४१ जना मानिसहरुले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको नेपाल प्रहरीको तथ्यांकमा देखिन्छ जुन दैनिक औसत १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।
यो संख्या आ.व ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन्। प्रत्येक वर्ष बिश्वमा सरदर ८ – १० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको बिश्व स्वास्थ संगठनको तथ्यांकले देखाउछ । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास गर्नेमा भने पुरुष भन्दा महिलाहरु बढि हुन्छन् ।

आत्महत्याको कारण

आत्महत्या गर्ने सोच र अवस्थामा पुग्नुमा धेरै कारणहरू हुन्छन । धेरै जस्तो अबस्थामा आत्महत्या वा आत्महत्याको प्रयासलाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।
आत्महत्या गर्नुमा ९० -९५ प्रतिशत कारण मानसिक रोग नै भएको देखिएकोछ । यसमा पनि डिप्रेसन नामक मनोरोग मुख्य मानिन्छ । केही ब्यक्तिहरु भने क्षणिक आवेगमा आएर पनि आत्महत्या गर्ने गर्दछन । यसका साथै अत्याधिक जाँड – रक्सी तथा लागूँ पदार्थको सेवन र कडाखालका मानसिक रोग हुदाँ पनि व्यक्तिले आत्महत्या गर्न सक्ने जोखिम हुन्छ । आत्महत्या आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

आत्महत्याको जोखिम

आत्महत्याको हिसाबले केही ब्यक्तिहरु उच्च जोखिममा रहेका हुन सक्छन । जस्तो डिप्रेसनमा भएका , कुनै दुखद घटनाले धेरै नै प्रभावित भएका ,पटक पटक आत्महत्याको प्रयास गरेका, तनाब पूर्ण पेशा वा ब्यबसायमा लागेका पारिबारिक झै – झगडा वा उल्झनमा फसेका, आर्थिक संकटमा परेका , बिरोजगार तथा लाँगू प्रदार्थको कुलतमा फसेकाहरु आत्महत्याको हिसाबले जोखिममा परेका ब्यक्तिहरु मानिन्छन् ।

मानसिक रोगको चेतनामा कमी

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्या गर्नुलाई हाम्रो समाजले फरक रुपमा लिन्छ । मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबी देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई हाम्रो समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भन्ने गरेको पनि सुनिन्छ । आत्महत्या गर्नेको परिवारसँग अरु व्यक्तिहरूको सम्बन्ध तथा आउजाउ कम हुने तथा पानी बारावारसम्म गर्ने गरेको समेत सुनिन्छ ।

आत्महत्या समस्याको समधान होइन

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ । यो सुन्दर संसारमा केही समयको लागि टुवाँलो लागेको मात्र हो । धैर्य गरियो भने एक दिन त्यो टुवालो अबस्य फाँट्नेछ।
जीवन रहे मात्र फेरि संसार देख्न पाईन्छ । आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ । आफ्ना गल्तीहरु प्रायश्चित गर्न सकिन्छ । तर आफू नै नरहेपछि न संसार देख्न पाईन्छ न त आफूले गरेको भुललाई सुधार्न वा प्रायश्चित गर्ने मौका नै पाइन्छ । आत्महत्या समस्याको समाधान हुँदै होइन ।

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ

हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” । समय र सोच सधै एउटै हुदैन । दुःख र निरासाको पललाई धैर्य गरेर केहीबेर पर्खने र सामना गर्ने हो भने त्यो पल बितेर जान्छ । जीवननै त्याग्ने आफ्नो सोचमा पनि परिवर्तन आउछ । थोरै धैर्यता र अरुको सानो साथ र सहयोगले जिवनमा नयाँ आशा जगाउन सक्छ । कसैको सानो सहयोग पनि जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

आत्महत्या सहयोगका लागि चित्कार

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार हो । कुनै कुनै अवस्थामा बाहेक व्यक्तिले एकै पटक आत्महत्या गर्दैन । आत्महत्या गर्नु अगाडि ब्यक्तिले विभिन्न किसिमका लक्षण वा संकेतहरू देखाउने गर्दछ । असी प्रतिशात ब्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै लक्षण देखाउने गरेको देखिन्छ । यस्तो अवस्थामा उसले घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा
आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ ।

आशाको दियो जगाउ

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि ब्यक्तिहरु आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्या गर्ने अवस्थामा पुगेको ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएर देख्छ । उ आफै देखि निराश भएको हुन्छ । उसले मर्नुदेखि बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन । ब्यक्ति रको यस्तो निराश मनमा हामीले कुनै न कुनै कार्य र माध्यमबाट आशाको दियो जगाउने काम गर्न सके उसको जीवन बचाउन सक्छौ ।

आत्महत्याको समचारमा संबेदनशिल हौ

आत्महत्या एकदमै संवेदनसिल बिषय हो ।
आत्महत्याको समचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । जसले समाजमा झनै नकारात्मक असर पुर्‍याउछ। डिप्रेसनमा गएका र आत्महत्याको सोच बनाएकाहरुलाई यसले आत्महत्या गर्ने हौसला बढाउछ । बालबालिकाहरुले पनि त्यसको नक्कल गर्न सक्छन् ।
आत्महत्याको खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका लागि सबैको सहकार्यको जरुरत पर्दछ ।

यहाँहरुमा पनि आत्महत्याको सोच, बिचार आईरहेको छ । आत्महत्या गर्ने योजना बनाई सक्नु भएको छ वा आत्महत्याको प्रयास समेत गरिसक्नु भएको छ भन्ने आजै मनोविज्ञको सहयोग लिनुहोस ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु