दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २८ गते, बिहीबार ६:४०

नुवाकोट।आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

नवरात्रिको नवौं दिन शक्तिस्वरुपा दुर्गा भवानी (महालक्ष्मी देवी) को पूजाआजा गरिन्छ । महा अष्टमीमा झैं कतिपय ठाउँमा भने नवमीमा समेत कलपूर्जा, हातहतियारहरूको पूजा गरिन्छ । कन्याहरूको पूजा गरी भोजन पनि गराइन्छ । पूजाआजाका लागि काठमाडौँको तलेजु भवानीको मन्दिर आजको दिन सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।

घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा महा नवमीका दिन देवी मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ । आज घरघरमा विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । महा नवमीमा दुर्गा भवानीलाई जति धेरै बली दिन सक्यो त्यति धेरै पुण्य लाभ हुने धार्मिक विश्वास छ । नवदुर्गा भवानीले असुरहरूको निर्मूल गरेको दिन महा नवमीलाई मानिन्छ ।
नवरात्रिको नवौ दिनमा सिद्धिद्धात्री देवीको पूजाआजा गरिन्छ ।

दुर्गा भगवतीले असुरहरु नास गर्ने क्रममा उनीहरुको सैन्य शक्ति तहसनहस बनाउँदा प्राण बचाउन असुरहरु भेष बदलेर खसी, बोका, भेडा, हाँस, कुखुराको रुप धारण गरेकाले नवमीका दिन मौलामा यी पशुको बली दिने चलन चलेको बताइन्छ । शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौंला र मूला आदि बलिका रुपमा देवी भगवती सामु अर्पण गर्ने गर्दछन् । महा नवमीमा चामुण्डादेवीले रक्तबिज नामक असुरको संहार गरी देवत्व र सत्यको रक्षा गर्नु भएकोले नवमीमा कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा पनि गर्ने चलन छ ।

आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्दछ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात त्यागिदिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छलकपट गरी दस प्रकारका विकारको त्यागका लागि पनि महा नवमी पूजा गर्ने चलन रहेको छ । तर यो वर्ष कोरोनाको कारण शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु