• मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०६:५५

    काठमाडौं । मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो।

    नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत् महसुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए।

    नयाँ दर बाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ ।नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।

    आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ ।

    महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ ।यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई फाइदा पुर्याएको छ ।४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ ।

    ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु