• हस्तकला नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुनसक्छ-शाक्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १९:१८

    नेपाल हस्तकला महासंघको आयोजनामा १८औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको हुँदैछ, यसको तयारी, मुख्य आकर्षण, विगत र यस पटकको मेलाको भिन्नता, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा व्यपार व्यवसायलाई पार्ने प्रभाव, मेलाको आय–व्यय, मेलाको उदेश्य र औंचित्यका बारेमा केन्द्रीत भई महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यसँग गरिएको सम्पादीत कुराकानीको अंशः

    नेपाल हस्तकला महासंघको आयोजनामा १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको हुँदै छ, यसको तयारी बारेमा केहि जानकारी गराईदिनुस ?

    मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । खुशीको कुरा त के छ भने विगतमा काठमाडौंमा सीमित हुने गरेकोे मेलामा अहिले प्रदेश र जिल्ला संघहरुले पनि सहभागिता जनाउने इच्छा देखाएका छन्, जसबाट देशभरका व्यवसायीलाई मेलामा सहभागी गराउने हाम्रो उद्देश्य पूरा हुने भएको छ । कोरोनाबीच पनि मेलाप्रति आकर्षण देखिनु सकारात्मक पक्ष हो । मेलालाई अवलोकनका लागि विभिन्न सञ्चार माध्यमबाट पनि प्रचार÷ प्रसार भएको छ । सबैको साथ र सहयोग रहेको छ । मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहने छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला छ अधिकांस स्टल बुकिङ भइसकेको छ ।

    मेलाका मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिने छ ।

    मेलामा सबै प्रदेशको सहभागिता रहन्छ ?

    सबै प्रदेशमा त हाम्रो पहुँच छैन । प्रदेश ७ र ६ मा खासै पहुँच छैन तर प्रदेश नम्बर १,२,३ र ५ मा हाम्रो पहुँच रहेको छ । तथापी अहिले ४ वटा प्रदेशलाई मात्रै सहभागी गराउन सक्ने अवस्था र संभावना छ ।

    विगतमा काठमाडौको भृकुटीमण्डपमा मेला गरिन्थ्यो, तर अहिले तारे होटलमा हुँदैछ, मेला कत्तिको प्रभाकारी होला ?

    भृकुटीमण्डपभन्दा पनि प्रभावकारी र सफल हुनेमा हामी आशावादी छौं । किनभने हस्तकला भनेको भ्यालु एडेड प्रोडक्ट हो, यसलाई अझै उच्च महत्व दिनुपर्छ । विश्वसामु आफ्नो गुणस्तर र मौलिक पहिचान स्थापित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले फाइभस्टार लेवलमा पुगेपछि वास्तवमै यसको ग्रोथ हुने र रेसियोसमेत बढ्ने हाम्रो अपेक्षा छ । भृकुटीम मण्डपमा गर्दा सर्वसाधारण भिजिटर बढी हुन्थे भने हायात होटलमा हुँदा उच्च पदस्थ अधिकारी देखि कुटनीतिक नियोग, नेपालस्थित राजदूतहरुको सहभागिता रहन सक्ने भएकोले मेला अझै प्रभावकारी हुनेछ भन्ने हामीलाई लागेको छ । वास्तवमा हालसम्म हस्तकलाको नीति छैन, हस्तकला हेर्ने निकाय पनि नरहेको अवस्था छ । यसपटकको मेलाले नीति निर्माण र निकायका लागि समेत राज्यको ध्यानाकर्षण होला भन्ने लागेको छ । त्यसैले हायात होटलमा हुँदा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिकर्मी, कुटनीतिज्ञ, नेपालस्थित राजदूहरुलाई मेलामा आकर्षित गर्न सकियो भने वास्तवमै देशको अर्थतन्त्रमा हस्तकलालाई उजागर गर्नेछ भने आफ्नो मौलिकताको पहिचान, हस्तकलाको व्यवसायीकीकरण, यस क्षेत्रमा उत्पादन हुने कलाकारहरुलाई पनि अन्तर्राष्टियस्तर सम्म उजागर गर्न सकिनेछ । अर्को कुरा, भृकुटीमण्डपमा बढी भीडभाड हुने, पार्किङ समस्या, सुरक्षा पक्ष, सरसफाइको अवस्थालाई समेत मध्यनजर गर्दै मेला हायातमा नै उपयुक्त लागेको छ । यसको प्रि प्लानका रुपमा भाटभटेनी सुपरमार्केटमा पनि हामीले सानो मेला आयोजना गरेका थियौ, त्यो मेलाको रौनक र उत्साह देखेर हामी झनै उत्साहित भएका छौं ।

    भाटभटेनी मेलाको प्रभावकारिता कस्तो रह्यो ?

    सोचेभन्दा पनि धेरै राम्रो भयो, लाखौंको अर्डर पनि पाएको अवस्था छ । मेलामा सहभागी ९० प्रतिशतबाट निकै राम्रो भएको प्रतिक्रिया पाएका छौ । कतिपयले सप्लाइ नै गर्न नसक्ने गरी अर्डर पाएको पनि बताइएको छ । वास्तवमा पव्लिकमा जाने सबै हस्तकला सामाग्री एप्रुभल हुन्छ भन्ने हुँदैन । कुनै हस्तकला एकदमै महँगो र कुनै सर्वसाधारणले पनि उपयोग गर्न सक्ने सस्तो पनि हुन्छ ।

    विगतका मेलाहरुमा एउटै विधाका हस्तकलाका धेरैवटा स्टल हुन्थे, अहिलेको मेलामा के छ ?

    यसपटकको मेलामा निर्यातजन्य टेक्साटाइल र नन टेक्सटाइल प्रोडक्टहरु सेगमेन्टेड गरेर छुटयाएका छौं । हाम्रो प्रयासका बाबजुद पनि केही मिक्सअप चाहिँ भएको छ । अहिले हाम्रा विभिन्न ३६ विधाका हस्तकला विश्व बजारमा निर्यात भइरहेको अवस्था छ, त्यस्ता हस्तकलालाई उजागर गर्ने हाम्रो मुख्य उद्देश्य रहेको थियो तर सबैलाई समेट्न सकिएन । मार्केट एक्सेसका कारण पनि यस्तो भएको होला । मुख्यगरी बढी निर्यात हुने पश्मिना, फेल्ट, कार्पेट, धातुकलाका व्यवसायीहरु एकदमै उत्साहित देखिनुभएको छ । धातुकला, काष्ठकला, प्रस्तरकला, चाँदीका सामान, थान्कामा पनि उत्साह देखिएको छ तर खुकुरी, हेम्प, अल्लोमा पनि त्यत्ति उत्साह देखिएन । जिल्ला र प्रदेशबाट यस्ता प्रोडक्टको सहभागिता होस् भन्ने हाम्रो प्रयास छ । मेलामा विविधिता भयो भने मेलाको रौनकता बढ्न सक्छ, व्यापार भनेको फरक पक्ष हो तर आफ्नो पहिचान, प्रस्तुतिकरण, हस्तकलाको विविधता महत्वपूर्ण पक्ष हो । हस्तकला भनेको हाम्रो लिभिङ कल्चरसँग पनि जोडिएको क्षेत्र भएकोले सबै क्षेत्रलाइ समेट्ने गरी थप विभिन्न कार्यक्रमलाई जोडेका छौ । जस्तै इन्टान्जिवल कल्चर हेरिटेज भनेर अमूर्त सम्पदालाई उजागर गर्दैछौं । त्यस्तै पुस्तान्तरणको कुरा, सयवर्षअघि हाम्रो पहिरन कस्तो थियो, हाम्रो काम गर्ने शैली कस्तो थियो, प्रोडक्ट कस्तो थियो, अहिेलेको नयाँ पुस्तामा कस्तो प्रभाव पारेको छ, परिमार्जित भर्सेज कसरी आएको छ भन्ने कुरालाई उजागर गर्न खोजिएको छ ।

    आधुनिकीकरण व्यवसायिकीकरणका लागि हस्तकलामा पनि प्रविधि प्रयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ, मेलामा प्रविधि प्रदर्शनी छैन ?

    यसपटक प्रविधि प्रदर्शनीभन्दा पनि हामीले पुस्तान्तरणका लागि भनी (ईनहेरीतेन्स) तीन पुस्ताको जेनेरेसनलाई समेट्न खोजेका छौं । ६० वर्षभन्दा माथिका कालीगढ कलाकारले के गरिरहेका छन, उनीहरुको सोच, प्रविधि कस्तो छ ? ४० देखि ६० वर्षका कलाकार र कालीगढमा त्यसले कस्तो प्रभाव पारेको छ भन्ने देखाउन खोजिएको छ । त्यस्तै नयाँ पुस्ता के गर्दैछ भन्ने बुझ्न तारागाउँ कल्चर सेन्टरमा तीन विधाका हस्तकलालाई देखाउन खोजेका छौ । त्यहाँ पेन्टिङ, धातुकला र भाँडाकुँडा रहनेछन् । त्यहाँ ६० वर्षभन्दा माथि, मिडल एज अर्थात ४० देखि ६० वर्ष उमेर र पछिल्लो पुस्ता बनाएका हस्तकलाका प्रदर्शनी हुनेछ । साथै ७० वर्षभन्दा माथिका वरिष्ठ कलाकार सम्मान कार्यक्रम पनि रहेको छ । ७० वर्षभन्दा माथिका कलाकारका कतिपय सीप र प्रविधि नै लोप हुने अवस्थामा पुगेको छ । पाको हुँदै गएपछि काम गर्न नसक्ने, पुस्तान्तरण पनि नहुने अवस्था देखिएको छ । पुस्तान्तरणको लागि मेलाले विशेष भूमिका खेल्ने छ ।
    आन्तरिक बजारका साथै अन्तराष्टिय बजार प्रवद्र्धन पनि मेलाको उद्देश्य रहेको छ, अन्तराष्टिय बजार प्रवद्र्धनका लागि के हुन्छ ?
    त्यसका लागि हामीले नेपालस्थित सबै विदेशी कुटनीतिक नियोग, नेपालस्थित विदेशी राजदूतहरुलाई आमन्त्रण गरेका छौं । यहाँ भएका ४० वटा कुटनीतिक नियोग र दूतावासहरुमा पत्राचार गरिसकेका छौ । ५० प्रतिशतभन्दा बढीले चासो देखाउनुभएको छ । त्यसो त नेपाल सरकारकातर्फबाटै पहल हुन सकेको भए अझै राम्रो हुन्थ्यो भन्ने लागेको छ ।
    यसका लागि नेपाल पर्यटन वोर्डसँग कुराकानी गरेका थियौं तर वोर्डको आन्तरिक समस्याका कारण प्रयास र पहल सफल हुन सकेको छैन । तर पनि सञ्चार माध्यम र सेलीव्रेटीहरुमार्फत प्रचार प्रसारको काम भइरहेको छ । त्यस्तै निजी क्षेत्रका अन्य लिडिग छाता संगठनहरुको सहयोग रहेको छ । सोसियल मिडियाको पनि व्यापक प्रयोग गरिएको छ । त्यसो त हायात भनेको विश्व सम्पदा क्षेत्र वौद्धमा रहेको र हाम्रो लक्ष्य पनि वौद्धका पर्यटक पनि केन्द्रित रहेकोले त्यहाँ पर्यटक, व्यवसायिक व्यक्तित्व र स्थानीय व्यक्तित्वलाई मेलामा समेटेर हाम्रो कलालाई उजागार गर्न सकियो भने ठूलो सपोर्ट पुग्नसक्छ ।
    अर्को कुरा, अहिलेसम्म हाम्रो हस्तकला निर्यातकेन्द्रित छ तर तीनवटै तहका सरकारले खपत गर्ने उपहार र पुरस्कार वस्तुमा नेपाली हस्तकलालाई समावेश गर्न सकियो भने पनि हस्तकलाको ठूलो बजार हुनसक्ने अवस्था छ । मेलाका तीनवटै तहका नेपाल सरकारका प्रतिनिधिहरुको सहभागिता पनि मेलाको मुख्य उद्देश्य रहेको छ ।

    हस्तकला वर्षको अवसरमा महासंघले हस्तकला प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमम संचालन गरिरहेको छ, कार्यक्रमको उपलब्धि चाहिँ कस्तो छ ?

    कोरोना महामारीका कारण निराश बनेका हस्तकला व्यवसायीलाई पुनरजीवन दिनुपर्छ भनेर हामीले हस्तकला वर्ष नै घोषणा गरेर हस्तकलाको बजार प्रवद्र्धका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेका छौं । हस्तकला वर्षका लागि हामीले ठूला साना गरी करिब २५ वटा कार्यक्रम तय गरेका थियौ., जसमध्ये ७० प्रतिशत कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसमा हाम्रा सदस्य महानुभाव र मिडियाबाट पनि ठूलो सहयोग र सपोर्ट मिलेको छ । उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छौं ।
    हामीले निजीस्तरबाट हस्तकला वर्ष त घोषणा ग¥यौ,ं अव राष्ट्रिय रुपमै मान्यता दिनुपर्ने आवश्यकता देखिएको छ । हस्तकला दिवस नै मनाउनुपर्ने महशुस गरेका छौं । सरकारले विभिन्न वस्तुलाई आयात निर्यात क्षेत्रमा वर्गिकरण गरेको छ । तर हस्तकलालाइ पनि एउटै डालोमा राखिएको छ । हस्तकला भनेको सिमेन्ट, डण्डी, चाउ चाउ, विस्कुट जस्तो वस्तु होइन । हस्तकला भनेको स्वदेशी, श्रम, सीप र कच्चा पदार्थमा आधारित निर्याजन्य वस्तु हो । त्यसैले राज्यले हस्तकलालाई एउटै नजरबाट हुेर्नु हुँदैन, छुट्टै नीति, छुट्टै निकाय आवश्यक देखिएको छ । यस्तो गर्न सकियो भने देशको निर्यात व्यापारमा सुधारका साथै साथै रोजगारी सिर्जनामा पनि ठूलो सहयोग पुग्ने निश्चित छ।

    हस्तकला महँगो छ, ठूलो भोल्युममा उत्पादन गरेर सस्तो बनाउन सकिँदैन ?

    नेपाली हस्तकला तुलनात्मकरुपमा महँगो छ, यसलाई स्वीकार्नुपर्छ । सरकारवाट सहयोग र सर्पोट नभएकै कारण महँगो हुन गएको हो । अर्को विदेशी मोहका कारण पनि यस्तो भएको हो, सर्वसाधारणमा मात्र होइन, राज्यमासमेत विदेशी वस्तु मोह छ । आयातित सामान राम्रो हुने, स्वदेशी उत्पादनमा नाक खुम्च्याउने सोचलाई निरुत्साहित गरेर स्वदेशी उत्पादन नै उपयोग गर्ने वातावरण बनाउन सकियो भने स्थानीय बजारमै खपत बढ्न सक्छ र खपत बढेपछि बढी उत्पादन गरेर लागत घटाउन सकिन्छ ।

    हस्तकलामा अनलाइन मार्केटको उपयोगको अवस्था कस्तो छ ?

    कोरोनाका कारण हस्तकलामा पनि अनलाइन मार्केट फस्टाएको छ । कोरोनाको नकारात्मक असर भएतापनि अनलाइन मार्केट प्रवद्र्धनमा भने बरदान नै सावित भएको छ । विदेशी कम्पनीले नेपाल आएर अनालाइनमार्फत व्यापार गरिरहेको छ भने हामी कि नगर्ने ? त्यसैले हस्तकलाको अनलाइन कारोबारका लागि महासंघले आफ्नै अनलाइन पोर्टल निर्माण गरेको छ । जसको मेला उद्घाट्नकै अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाटै शुभारम्भ हुँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु