
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा एम्एस्सी गरेका नेता उमाकान्त चौधरी सह–महामन्त्री भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मत परिणाममा उनी थारु कोटामा तेजुलाल चौधरीलाई ८ सय ७९ मतले हराउँदै सह–महामन्त्रीमा विजयी भएका हुन् । विजेता चौधरीले २७ सय ५६ मत पाए भने निकटतम प्रतिद्धन्द्धी चौधरीले १८ सय ७७ मात्र मत पाए । उनले त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एम्एस्सी गरेका हुन् ।
चौधरी सभापति शेरबहादुर देउवाको तर्फबाट उम्मेदवार भएका थिए । खानेपानीमन्त्री समेत रहेका उनी कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । उनले २०७४ को प्रतिनिधिसभाको निर्वाचन बाराबाट जितेका हुन् । विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी जनताको माझ निकै लोकप्रिय छन् । ‘पार्टी अब युवाले हाँक्छन् म पनि युवा जोश र जाँगरले भरिपूर्ण छु त्यसैले पनि पार्टीको प्रमुख भूमिकामा पुग्नु जरुरी छ’ उनले भने ‘पार्टीलाई गतिशील र जुझारु बनाउने मसँग प्रशस्तै योजना छन् ।’ उनी २ नम्बर प्रदेशको मात्र होइन केन्द्रको राजनीतिमा नै चर्चित व्यक्तित्व हुन् ।
२०५६ को प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी २०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने । २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । २०६२÷०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर भएर नै काम गरे । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । उनको जितको यात्रा कहिल्यै पनि रोकिएन । २०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनमा झन् जिम्मेवारी बढ्दै गयो ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बने । २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित उनी २०७२ सालमा भएको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट केन्द्रीय कोषाध्यक्षमा उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पराजित चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए ।
मन्त्री हुनेबित्तिकै देशभरको खानेपानीको अवस्था के छ भनेर बुझ्न जिल्ला दौडाहामा निस्केका छन् । ‘खानेपानी नपाएर कोही नछटपटाओस् भन्ने हो, देख्दा विषय सामान्य भए पनि इस्यू गम्भीर हो ’ उनले भने ‘ सबै जनतालाई स्वच्छ र सुलभ खानेपानी पुर्याउने मेरो योजना हो ।’ सह–महामन्त्री भएपछि चौधरीले आफूमा जिम्मेवारी थपिएको बताए । ‘पार्टीलाई गतिशील र जिवन्त बनाउने मेरो योजना हो, मलाई यो अभियानमा लाग्ने थप उर्जा प्रदान भएको छ’ सह–महामन्त्री चौधरीले भने । मन्त्री चौधरीले शनिबार एक कार्यक्रममा बन्द भएको मेलम्चीको पानी ल्याएर उपत्यकावासीलाई खुवाउने जनाए । उनले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।


