
–शिव अधिकारी
भन्छन मानिस राजनीति जतिको झुट्ठा अरु कुन्छर
मान्छन संस्कृतिका अगाध महिमा यस्तो कहाँ हुन्छर
धर्ति यो छ अपार सार युगको मन्दिर संस्कारको
हासेकै छ सुशान्त रम्य चुचुरा माला छ हिमालको ।। १ ।।
यस्तो प्राण पखेरु यै प्रकृतिको खेल्ने खुला आगन
हे नेताहरु हो कसोरी बिचरा डुल्छौ सधै मागन
भन्छौ मै हुँ ठूलो समाज सजिलै हाक्ने म नेता पनि
त्यै हो? राजनीति छलि र ठगको हिड्छौ अगूवा बनि ।। २ ।।
गर्छु काम अनेक गाउँ घरको संस्कार फेर्छु भनि
भाषण गर्न सिपालु छौ मत दिुन भन्छौ मगन्ते बनि
सोझा छन जनता सधै तिमी भनि विश्वास गर्ने बरा
पाएको मतले जिते पछि भने तिन्कै खने छौ जरा ।। ३ ।।
यस्तो दुष्ट मति लिएर सबको सातो उडाई किन
उल्लु झै कति गुड्दछौ सडकमा धुलो उडाई झन
हिड्ने ताकत त्यो झिनो हुन गयो चड्छौ पजेरो पनि
ठग्दै मानिस संपत्ति सब लुटी हुन्छौ र आफै धनि ।। ४ ।।
त्यस्तो होईन राजनीति तर हो समाज सेबा गर
बाटो सस्कृति सम्पदा सहितको संपत्ति साझा घर
सारा शान्त सुसस्कृति लहरको साझा अधिकार होस
नमूना घर गाउँ देश सबको त्यो राजनीति बनोस ।। ५ ।।


