काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा उत्साह देखिएको छ । आइतबार उच्च अंकले बढेको सेयर बजार दोस्रो दिन सोमबार पनि उच्च अंकले बृद्धि भएको हो ।
आइतबार ७३ अंकले बढेको नेप्से सोमबार १९ अंकले उकालो लागेको छ । कारोबार सुरु भएदेखि तिव्र उतार चढाव देखिएको बजार १९ अंकले बढेर बन्द भएको हो ।
सोमबार केही ठूला कम्पनीहरुको शेयरमा सकारात्मक संकेत देखिएको छ । साथै कारोबार रकम पनि बढेको छ । सोमबार सात अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो ।
सोमरबार कारोबारमा आएका कुल २३६ कम्पनीका एक करोड ८२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भयो । अधिकांश उपसमूहका शेयर मूलय उकालो लागेको छ ।
सोमबार मध्य भोटेकोशी, युनियन जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसैगरि गोर्खा फाइनान्स, नेपाल टेलिकम र एचआईडीसीएलको कारोबार उच्च भएको छ ।
सरकारले कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउनको योजना अगाडि सारेको छ । लकडाउनको योजना अगाडि सारिरहेका बेला अन्य क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ता बजारमा आर्कषित भएका हुन् ।