तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नियात्रा ः हिराको हारले लोभ्याएको मन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २ गते, आईतवार १५:४०

डा. हरिकुमार श्रेष्ठ
नागार्जुन १०, स्युचाटार, काठमाडौँ
माघ २, २०७८

प्रकृतिसँगको मायाप्रेममा जेलिँदै, आँखा जुधाउँदै र भलाकुसारी गर्दै हिड्न रमाउने म । आज धरान–धनकुटाको पहिलो यात्रामा रमेको पनि चालिस वर्ष बितेछ भने दोस्रो यात्राले पनि तीस बसन्त पार गरिसकेछ । मलाई त्यस क्षेत्रका रहर र लोभलाग्दा प्राकृतिक दृश्यहरु, मानिसहको निस्चल प्राकृतिक बोली र सरल व्यवहारले तानिराखेको थियो । त्यसैले, त्यस क्षेत्रको माया मोहबाट तृप्त हुन सकिराखेको थिइन । त्यहाँको प्रकृतिसँगको सम्बाद सकिएको थिएन मेरो । अझ मलाई त धरान, भेडेटार, धनकुटा, हिले बजार, पाख्रिबासको विकासले फेरेको रङ्ग र आकृति हेर्नु थियो र श्रीमतीलाई पनि आफू पहिला घुमेको क्षेत्रको बेलिविस्तार लगाउन थियो । त्यसमाथि पहिला रहर लागेको तर पुग्न नसकेको ठाउँ बसन्तपुर पनि पुग्न थियो । अनि पूर्वी क्षेत्रमा नपुगेका जिल्लाहरुमध्ये तेह्रथुमको यात्रा पनि । त्यहिमाथि जेठो छोरो (पदमकुमार श्रेष्ठ) को बिबाहले धरानसँग नयाँ सम्बन्ध विस्तार हुन पुगेकोले पनि होला विगत वर्षहरुदेखि नै उक्त क्षेत्रहरुको भ्रमण गर्ने र आफन्तहरुसँग भेटघाट गर्ने हुटहुटि जागिरहेको थियो हामीमा, र यो वर्ष जु¥यो मेरो र मेरी श्रीमती लक्ष्मीमाया श्रेष्ठको शुभ साइत ।
हामी झापा, ईलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाहरुका केही मनोरम स्थलहरुको भ्रमण सकेर पाँचौ दिन तथा २०७८ पौष १४ गते बेलुकी मेरी श्रीमति, गाडीचालक भाइ गोपाल लामा र म झापाको दमकको एक होटलमा बास बस्न पुग्यौँ । यो होटलमा पुग्नुभन्दा अगाडि पनि ३–४ वटा होटलहरुका कोठाहरु हे¥यौँ । तर त्यहाँको वातावरण झुमझुम तथा कोठाहरु पनि अतिनै फोहर थियो । त्यसैले, यो पछिल्लो होटल तुलनात्मक रुपले राम्रै लागेर बास बस्ने निधो गरियो । सायद कोभिड १९ को असरले मानिसको आवत जावतमा कमी आउनाले गर्दा होला त्यसको असर होटल क्षेत्रमा पनि परेको पाइयो । बास बस्ने ग्राहक तथा यात्रीहरु कमै भएको कारणले कोठा भाडा घटाएर भए पनि उनीहरुले हामीलाई गुमाउन चाहेनन् । कोठाहरु सफा नै देखिए तापनि ओसिलो, ढुसी गन्हाएको, त्यहिमाथि खजुरो जीव कोठाभित्र घुमिरहेको भेटियो । समय घर्कँदै गएको र हामी पनि ताप्लेजुङ्गदेखिको लामो पहाडी बाटोको यात्राको कारण कतिखेर बिछ्यौनामा पल्टन पाइन्छ भन्ने मात्र सोँचमग्न थियौँ । त्यसैले, होटलवालालाई कोठा एकपटक राम्रोसँग सफा गर्न लगाएर त्यहिँ खानपीन गरी रात गुजारियो ।
भोलिपल्ट बिहानै करिव ६ः२० बजे दमकबाट पहिलो गन्तव्य धरान हुँदै धनकुटा र तेह्रथुमतिरको यात्रामा हुइँकियौँ । धरानमा जेठी बुहारी (ज्वलिता श्रेष्ठ) को माइती घरमा उनकी आमा (सम्धिनीज्यू), दाजु (अमिर उदास), दिदी (प्रज्वलिता), भिनाजु (मिलन श्रेष्ठ), भतिजी (प्रमिशा) र भतिजो (प्रमिश) लाई बिहान ७ः३० बजे भेट्ने योजना भए तापनि हाम्रो यात्राले अलि बढी नै समय लियो र हामी निर्धारित समयमा पुग्न असमर्थ भयौँ । खास गरेर, हामीले बिहान जाडोको कारण चिया पिउनको लागि दमकदेखि सडकको दायाँ बायाँ चियाउँदै जाँदा अलि समय लगायौँ तर पनि भनेजस्तो स्थान भेटेनौँ । बाटोमा मोरङ्गको उर्लाबारी, मौवा शाखा पुल, आईतबारे, बक्रा पुल, नयाँ मंगलबारे, सञ्जोरा पुल, पथरी, भाउन्ने, वेतना सिमसार क्षेत्र, बेलबारी, बिराट चौक र बुढी खोला पुल पार गरेर सुनसरी जिल्ला प्रवेश ग¥यौँ । बुढी खोलाको किनारमा काठमाडौँको पशुपति क्षेत्रको वागमती किनारमा जस्तै मृत शरीरको दाहसंस्कार गर्ने स्थान बनाइएको दृश्य पनि कैद ग¥यौँ । हामी करिब ७ः२० बजे ईटहरी बजारलाई आधा चक्कर लगाएर उत्तरतर्फ लागेपछि बल्ल सुनसरीको तरहरा पुगेर चिया पानी पिउने धोको पुरा गरियो ।
वास्तवमा ईटहरी बजारको सडकखण्ड जीर्ण अवस्थामा पुगेको अनुभूति भयो । किनकि, त्यहाँ सडकमा खाल्टाहरु, उफड फाफड निकैनै थियो जसले हामीलाई गाडिभित्र बस्दा पनि झोलुङ्गोमा हल्लिएको अनुभूति भयो । मैले सोचेको थिएँ कि मेयर द्वारिका चौधरीको क्षेत्र त निकै नै चुस्त र दुरुस्त होला भनेर । तर वास्तविकतामा मेरो सोचाईले बल्ड्याङ् खायो । सायद पूर्वपश्चिम राजमार्गको जिम्मेवारी संघअन्तर्गत भएर पो हो कि ।
जब हामी ईटहरी छाडेर अगाडि बढ्दै गयौँ, त्यस क्षेत्रका पहाडी जिल्लाहरुको मुल प्रवेशद्वार भनेर चिनिने ईटहरीदेखि धरानसम्मको सडकखण्ड भने जोडतोडले सुधार भइरहेको रहेछ । बाटो अति नै चौडा, सुन्दर, सफा, चिटिक्क र मनमोहक । यसले मलाई एकातिर युरोप र ताईवानको सडकको झझल्को मेट्दै थियो भने अर्कोतिर सडकको विस्तारले मैले पहिला चिनेको तरहराले त काँचुली नै फेरेर नयाँ जीवन फेरेको अनुभूति भयो र मलाई ठम्याउन पनि हम्मेहम्मे प¥यो । सडक विस्तारको काम पुरा हुन भने अझै वर्षदिन लाग्ने देखिन्छ । यो सडकखण्ड विस्तार कार्य सम्पन्न भएपछि बुटवल–भैरहवा, कोहलपुर–नेपालगञ्ज तथा अत्तरीया–धनगढी सडकखण्डजस्तै देखिनेरहेछ । वास्तवमा यो दशक सडक क्षेत्रको विकासले फड्को मार्ने दशकको रुपमा पनि लिन सकिन्छ । किनकि, नेपालभरी नै सडक निर्माण तथा विस्तारको कार्य द्रुतगतिमा अगाडि बढेको पाइन्छ, जुन देश विकासको लागि एक पूर्वाधार पनि हो ।
हामी धरानतिर अगाडि बढ्दै थियौँ । बाटोमा ढिला भएको कारण ज्वलिताको दिदीबाट बेलाबेलामा फोन आइरहन्थ्यो र हामीले पनि फोन गर्दै जीवित सम्पर्कमा रहन्थ्यौँ । हाम्रो पनि नयाँ सम्बन्ध गाँसिएपछिको पहिलो भेटघाट हुने भएकोले म र श्रीमतीमा निकै नै कौतुहलता छाएको थियो । दमकबाट धरानसम्म करिब दुईघण्टाको यात्रापछि हामी करिब ९ः३० बजे धरान बजार पुग्यौँ तर बाटो बिराएर दन्तकाली मन्दिर डाँडातिर पुगेछौँ । संका लागेर फोन सम्पर्क ग¥यौँ । मिलन श्रेष्ठ हामीलाई घर नजिकै बाटोसम्म लिन आउनुभएको थियो । त्यसपछि हामीलाई सहज महसुस भयो र अगाडि बढ्यौँ । घर नजिकै तरकारी बजारमा मानिसको भीड, त्यही माथि सडक पुनः निर्माणको कामले सडक लथालिङ्ग र भताभुङ्ग अवस्थामा थियो भोलीको सुनौली विहानी बोकेर ।
घर आइपुग्यो भनेर गाडि रोक्न लगाउनुभयो । घरमा सबैजना हाम्रै प्रतिक्षामा बसिरहनुभएको रहेछ । प्रफुल्ल र हर्षित मुन्द्रामा भेटघाट भइयो र साइनो अनुसार दर्शनभेट साट्यौँ । ज्वलिताको विवाहको बेलामा उहाँहरुसँग क्षणिक देखभेट भए तापनि राम्रोसँग बोली मिसिएको थिएन हामी बीच । वास्तवमा, उहाँहरुको मृदुभाषी बोली, सत्कारी व्यवहार, हसिलो र फुर्तिलो चेहराको स्वागतले खडेरीको बिरुवाले जल सिँचनपछि फेरिरएको रुप जस्तै हाम्रो पनि पाँच दिनको यात्राको थकाइले करकलोको बाफिएको गावा जस्तै लल्याङ् लुलुङ भएको शरिरमा उर्जा थपिएर चङ्ग भएको महसुश भयो ।
गफ गर्दै घरमै तयार भएको बिहानको ताजा र स्वादिष्ट नास्ताको परिकार लियौँ र हामीसँगैको बाँकी दुईदिनको यात्राको पनि तय ग¥यौँ । पहिलो दिन भेँडेटार, धनकुटा, हिले बजार, नमस्ते छहरा, गुराँसे, नुनथोक हुँदै तेह्रथुम जाने र भ्याएसम्म घर फर्कने हैन भने बीचमै बास बस्ने । भोलिपल्ट धरान बजार, चतरा र बराहा क्षेत्रको भ्रमण गरी बेलुकी विराटनगरबाट काठमाडौँ प्रस्थान गर्ने । हामीसँग ज्वलिताको दाइ (अमिर उदास) र भिनाजु (मिलन श्रेष्ठ) पनि जाने कुरा भयो र हामी निकै नै ढुक्क भयौँ ।
मैले त्यहाँका केही क्षेत्रहरुको दुईपटकसम्म भ्रमण गरे तापनि मेरो भ्रमण सतही मात्र थियो भने केही क्षेत्रहरु त मेरो लागि पनि नयाँ नै थिए । त्यसैले, उहाँहरुको उपस्थितिले यसपटक भ्रमण गरिने क्षेत्रहरुलाई अलि खोतल्ने अवसर मिल्ने भयो जस्तो पनि लाग्यो । किनकि, उहाँहरु त्यस क्षेत्रको रैथाने, त्यसमाथि मिलन श्रेष्ठ त त्यस सडकखण्ड र स्थानहरुको केस्रा केस्रा खोतल्दै चिरफार गरेका व्यक्ति ।

बिहान करिब १० बजिसकेको थियो त्यसैले धरानबाट तेह्रथुम पुगेर निधारित क्षेत्रहरु घुमेर धरान फर्कनसक्ने कुरामा शङ्कै थियो हामीलाई । अब हामी पाँचजना यात्री भयौँ । धरानबाट यात्राको प्रस्थान गरी उत्तरतर्फको ब्रिटिश वयलफेयर अफिस क्षेत्र हुँदै अगाडि बढ्यौँ । यात्राको क्रममा धरान वरिपरि देखिएका स्थानहरुको बारेमा पनि जानकारी लिँदै नागबेली पहाडी बाटो उकाली लाग्दै पहाडको फेदिमा अवस्थित धरान बजारलाई नियाल्दै मनोरम पहाडी दृश्यहरु छिचोल्दै भेँडेटार पुग्यौँ ।
भेंडेटार धरान बजारबाट करिब १६ कि.मि. उत्तर र धनकुटा बजारबाट २६ कि.मि. दक्षिणमा पर्दछ । यस ठाउँको उचाइ समुन्द्र सतहबाट करिब १,४२० मिटरको छ । यो बजार पूर्वतिर पाँचथर जिल्लाको राँके र पश्चिमतिर बराहक्षेत्रसमेत जोड्ने सडकको संगमस्थल भएकोले पनि यसले थप महत्व बोकेको छ । प्रायः वर्षभरि जसो नै यहाँ मानिसहरुको सान्निध्य पाउने यो स्थानमा आन्तरिक पर्यटकहरुको चाप नै बढी हुने रहेछ । त्यसैमध्ये, हामी पनि आजका त्यस स्थानका आन्तरिक पर्यटक । यो बजारमा वि.सं. २०३८ सालमा वेलायती युवराज चाल्र्सको भ्रमणपछि बढी चर्चा कमाउन थालेको रहेछ ।
भेंडेटारमा सितल हावापानी भएको र त्यहाँबाट विशेष गरी धरान बजार, तराईका रमाइला फाँटहरु, सप्तकोशी नदी, कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायत अन्य हिमश्रृङ्खलाका साथै पहाडका सुन्दर हरिया तरेलीहरु सजिलै देख्न पाइने र यातायात, सञ्चार, बसोवास तथा खानपीनको लागि राम्रो होटलहरु भएकोले पनि मानिसहरुको आकर्षण बढ्दो छ यो क्षेत्रको ।
वास्तवमा मैले पहिला भेटेको भेँडेटारले त कति काँचुली फेरेछ कति ? त्यहाँको हरिया पहाडको बीचमा लालिगुराँस फूल भएर आफ्नो रङ्ग छर्दै थियो भेंडेटारले । त्यहाँ भएको बजार क्षेत्र र सडकखण्डको विस्तार तथा ठुला ठुला आकर्षक सुविधा सम्पन्न भवन तथा होटलहरुको निर्माणले यसको गरिमा तथा आर्थिक अवस्था पनि ह्वात्तै उचालेको पाइयो । त्यहिँ माथि भेँडेटार महोत्सवको तयारीले दुलही झैँ सिँगारिएको थियो भेँटेटार बजार क्षेत्र र पो मानिसहरुको पनि घुइँचो देख्न सकिन्थ्यो त्यहाँ । हामीले पनि एक नजर लगाएर बढ्यौँ आफ्नो त्यो दिनको गन्तव्यतिर ।
केही समयको नागबेली ओरालो बाटो पार गरी नमस्ते झरनाको प्रवेशद्वार हेर्दै पछि फर्कँदा पस्ने प्रतिबद्धताका साथ धनकुटातर्फ लाग्यौँ । एकछिनपछि तमोर नदी पुल पार गरेर केही समय मुलघाटमा विश्राम लियाँै । नदीको सफा पानी माथिको पुल अति नै आकर्षक देखिएकोले क्यामरामा कैद पनि ग¥यौँ । यो नदीबाट ¥याफ्टिङ्ग गर्दै कोशी नदीको किनारमा अवस्थित चतराधामसम्म जान सकिने रहेछ ।
धरान बजारदेखि करिब ५२ किलोमिटरको दूरी पारगरेपछि धनकुटा बजारको बसपार्क पुग्यौँ । त्यसपछि हामी धनकुटाको पुरानो बजारलाई चिर्दै एकैछिनमा करिब १६० वर्ष पहिला स्थापना भएको निशान भगवती मन्दिर परिसर पुग्यौँ । बजार बिचको सडक कालोपत्रे भए तापनि निकै नै साँघुरो र त्यही माथि मोटरसाइकल पार्क गरेर राख्ने हुनाले सानो गाडीहरु पनि एकआपसमा पास हुन हम्मेहम्मे हुने रहेछ ।
यो बजार एभोकाडो तथा छुर्पीको लागि प्रख्यात रहेछ । त्यसैले धनकुटालाई एभोकाडोको राजधानी भनेर पनि भन्ने गरिँदो रहेछ । त्यहाँ मन्दिर अगाडि मनै लोभ्याउने टपक्कै टिपेर लैजाउँ जस्तो एक एभोकाडो स्तम्भ पार्कको निर्माण भएको पनि पाइयो जहाँबाटसुन्दर पहाडी दृश्यहरु अवलोकन गर्न सकिने रहेछ (फोटो १)। त्यहाँको अर्को विशेषता भनेको सुन्दर निशान भगवती मन्दिर र मन्दिर परिसर, जुन मैले देखेको बेलामा भन्दा निकैनै सुधारिएको पाइयो । अझै त्यस मन्दिरमा राखिएको घण्टै घण्टाले निर्मित विशाल सुनौला रङ्गको घण्टाले कसको पो मन चुम्दैन होला र ? त्यसैले हाम्रो पनि ध्यान त्यतैतिर केन्द्रित रह्यो, खिच्यौँ केही फोटोहरु र रमायौँ अनि लाग्यौँ हिले बजारतिर ।

फोटो १ ः एभोकाडोको राजधानी धनकुटा बजारमा एभोकाडो स्तम्भ

तोम्बाको लागि पहिलादेखि नै प्रख्यात हिले बजार प्रवेश गर्ने बित्तिकै बजारको चोकमा मनै लोभ्याउने तोम्बाको स्तम्भराखिएको रहेछ (फोटो २) । पहिलाको हिले बजार कुच्रुक परेको, घर तथा सडक पनि साना साना थिए । तर अहिलेको हिले बजारले पनि काँचुली फेर्दै गरेको अवस्थामा थियो । बजार तथा सडक क्षेत्रको विस्तार, ठुला ठुला घरहरु आकासै चुम्ने गरी ठिङ्ग ठडिएका रहेछन् । पाख्रिवास जाने सानो बाटो पनि विस्तार भएको रहेछ । तर सडक विस्तारको काम भइरहेकोले नाम जस्तै हिलाम्य थियो हिले बजार । त्यसैले, श्रीमतीले पनि प्याट्ट भन्न भ्याइहालिन् कि नाम अनुसारको ठाम ठ्याक्कै मिल्दो रहेछ भनेर । यसै क्षेत्रबाट भोजपुर, तेह्रथुम र पाँचथरतिर पनि जाने भएकोले व्यापारिक तथा पर्यटकीय महत्व बोकेको छ त्यस स्थानले । त्यहिमाथि हिले बजार पुग्नुभन्दा अगाडि सानो र सुन्दर चिया बगान पनि रहेछ, जस्ले ईलामको चिया वगानको झल्को दिँदो रहेछ ।


फोटो २ ः धनकुटाको हिले बजारमा तोम्बाको स्तम्भ

हिले बजार आइपूग्दा झनै जाडोले सेक्दै थियो हामीलाई । बादलको गुजुल्टोले सारा संसारै ढाकौँला झँै गरी बेगले हुइँकिएको देखिन्थ्यो । त्यसैले, त्यहाँबाट अरुण उपत्यका, मकालु तथा कञ्चनजङ्घा हिमाली सृङ्खलाहरुसँग लुकामारी खेल्न पायौँ हामीले । अनि त्यहि बादलभित्र जीवनका उकाली ओराली, आरोह अबरोहका गाथाहरु परिकल्पना तथा कोर्न पनि सकिन्थ्यो । त्यसैले त त्यसभित्र कहिले विशाल कृषि फाँट देख्न पुग्दथेँ भने कहिले कहाली लाग्दो बञ्जड, बगर र उराठिलो दृश्य पनि । कहिले काहिँ त बाढी पहिरोले पिल्सिएको मेलम्ची बजार कोर्न पुग्दथेँ भने कहिले काही दर्दनाक पानीको भेलले सोत्तर भएको तराईका कृषि फाँट पनि । जे होस् बादलले हाम्रो जीवनका अनेकौँ तरेली वा लहरीहरु बोकेर अबिरल बगिरहेको देखिन्थ्यो ।
त्यसपछि हामी गुराँसे, जोरपाटी हुँदै सिंधुवा पुग्यौँ, जहाँ अहिल्यै टिपेर तरकारी पकाएर खाउँ जस्तै काउलीको थुँगाको स्तम्भ बनाएर बजारको बिचमा राखिएको रहेछ (फोटो ३) । यो स्तम्भले त्यस क्षेत्रमा स्थापित पाख्रिवास कृषि अनुसन्धान केन्द्रको कारण त्यस क्षेत्रमा भएको तरकारी विकास र आर्थिक आयआर्जनको स्रोतमध्ये काउली पनि एक प्रमुख बाली हो भनेर सङ्केत गरिरहेको हुन्थ्यो । त्यहाँका किसानहरुले तरकारी खेतीको लागि निकै मेहनत साथ तयार गरेको कृषि जमिनले पनि त्यहाँका कृषि कार्यमा संलग्न व्यक्तिहरुलाई कृषकभन्दा पनि एक विशेष अनुभवी कृषि विज्ञको रुपमा पहिचान दिलाएको पाइयो । आफू पनि कृषिको विद्यार्थी भएको नाताले जता पनि कृषिसँग सम्बन्धित स्तम्भ राखिनु गौरबकै कुरा थियो । भोली जतिसुकै राजनैतिक उथल पुथल भए तापनि सालिक ढालिएझै अवस्य ढालिने छैन ती स्तम्भहरु ।

फोटो ३ ः धनकुटाको सिंधुवा बजारमा भएको काउली थुङ्गाको स्तम्भ

जाडो मौषममा दिनको करिब एक बजिसकेकोले भोकले पेट त सारङ्गी जस्तै बनेकोले पहिला पेट पुजा गर्ने निधो ग¥यौँ र एक होटलमा गई खानपीन ग¥यौँ । हिँउ परेकोले अन्य क्षेत्रका नेपालीहरु तथा भारतको सीमावर्ति क्षेत्रबाट पनि हिँउ हेर्न र खन्न आउने भारतीयको पनि घुइँचो देख्न सकिन्थ्यो त्यहाँ । खानापछि तेह्रथुम जानको लागि नुनथलातिर लाग्यौँ । बाटोमा पनि डाँडातिर हिँउ देखिन्थ्यो, जहाँ हिँउ यात्रीहरु पनि रातै पहेँलै फुलिरहेका देख्न सकिन्थ्यो ।
नुनथला पुग्दा त त्यहाँको मावल निकै नै रमाइलो थियो । एकातिर हिँउले सेताम्यै पहाडको छेउमा पिकनिक जानेको जत्थाहरुमध्ये कोही सुमधुर संगीतमा रम्दै जाडोले कठ्याङ्रिएको शरीर तताएका हुन्थे भने कोही खानपीनको तयारीमा थिए । त्यस्तै गाडिहरु र हिँउ यात्रीहरु भने कमिलाको ताँती बनेर साँघुरो सडकमा लामबद्ध थिए । त्यसैले, बाटो अबरुद्ध भएर गाडी अगाडि बढ्नसक्ने स्थिति भएन । सुरक्षकर्मीहरुका न्युन उपस्थितिले सबै ठाउँमा उनीहरुले भ्याउन सम्भव नभएकोले अन्य मानिसहरुले सहयोग गरे तापनि बाटो खुल्ने स्थितिनै भएन र हामी पनि तनाबमा प¥यौँ ।
बाटोको अवस्था बुझ्न नुनथलाको कुइनेटोलाई फन्को मार्न मात्र के खोजेका थियौँ घरको छाना, आगन, सडक, बारी, जङ्गल जताततै बाक्लो हिँउ र हिँउ यात्रीको उपस्थितिले त्यस ठाउँको रौनक धपक्क बलेको थियो । मलाई लाग्दथ्यो स्वर्ग छ भने त्यसै ठाउँमा छ ।
त्यसैले, हिँउ यात्री केटाकेटीहरुको जमात पनि निकै बलियो थियो (फोटो ४) । त्यो क्षेत्र उनीहरु र हामीहरुको मनोरञ्जनको लागि पनि उर्वर क्षेत्र बनिरहेको थियो ।
हिँउ निकै परेर हिँउले पहाडसँग चुम्बन गरेजस्तै यौवनले लालिएका युगल जोडीहरु हिँउ घारीभित्र छेल पारेर एकआपसमा अङ्कमाल र चुम्बन गर्दै आफ्ना भक्भकी उम्लिएका यौवनका तरङ्गहरु एकआपसमा साँटिरहेका हुन्थे भने कतिपय जोडिहरु भने हिँउ घारीमै जाडोको कुनै प्रवाह नगरी यौवनका किल्ला जमाएर बसेका हुन्थे । कतिपय व्यक्तिहरु भने ज्यानको प्रवाह पनि नगरी हिँउमा चिप्लेटि खेल्दै र हिँउ खेल्दै टिकटकमै व्यस्त थिए । कतिपय भने सडकमा लामबद्ध भएर यत्रतत्र हिँउ हेर्दै र हिँउकै कुरा गर्दै रमाएका हुन्थे । कतिपय व्यक्तिहरु भने हिँउको डल्ला बनाएर नचिने पनि प्वाक्क हान्दै हिँउ खेल्न निम्त्याएका हुन्थे । त्यहाँको हिँउ घारीको मनोरम दृश्यहरु नियाल्दै म पनि मन फुकाएर दौडन र उड्न चाहन्थे । तर मन फुकाएर मात्र के नै गर्न सकिन्थ्यो र परिस्थितिको जंजीरमा जेलिएपछि ।


फोटो ४ ः धनकुटा जिल्लाको नुनथलामा हिँउ यात्रीहरु

हामी भने हिँउले भरिएको सडक र हिँउ घारीको फोटो खिच्दै कसरी त्यो क्षेत्र पार गरी अगाडि बढ्न सकिन्छ भनेर सोँचमग्न थियौँ । हिउँले ढाकिएको सडकमा हिँउ यात्री र गाडी जामको साथै सडकको अवस्था हेर्दा हामीले अगाडि बढ्न सकिन्छ भन्ने कुरामा हरेस खायौँ । त्यसैले, हामी अगाडि बढ्नभन्दा पनि फर्कने निधो ग¥यौँ र गाडी भएतिर पुग्यौँ । तर गाडि कसरी निकालेर फर्कनेमै समस्या भयो । यसै बिचमा मिलन श्रेष्ठले जुक्ति निकाल्नुभयो र जाममा पोको परेर बसेको गाडिको लाइनबाट गाडि निकाल्न सफल भयौँ । त्यसपछि हामीले एकैछिन भने पनि पाख्रिवास पुगेर घर फर्कने निधो ग¥यौँ ।
हिले बजार पुगेपछि हामी दाहिने मोडिएर पाख्रिबास पुग्यौँ । त्यहाँ हामीले एकजना साथीलाई भेट्नु थियो । तर उनीसँग फोनमा सम्बाद भए अनुसार समयमा आउन नसकी एकछिनपछि आइपुगेकाले र समय पनि घर्कँदै गएकोले कृषि कलेजसम्म पुग्यौँ र फोटो खिचेर बजारमा चियापान गरी फक्र्यौँ हिले हुँदै धनकुटातिर । वास्तवमा कृषि कलेजमा विद्यार्थीहरुको पठनपाठनको लागि प्रोफेसर तथा शिक्षकहरु अन्यत्रबाट पनि व्यवस्था गरी काम चलाइनुपर्ने अवस्था रहेछ । त्यो दिन सरकारी विदाको दिन परेकोले पनि हामीले त्यहाँ पाख्रिबास कृषि केन्द्रमा घुमफिर गर्न सकेनौँ ।
धनकुटा बजार आएपछि हामीले बिहान आएकोभन्दा अर्कै बाटो समात्यौँ जहाँबाट ज्वलिताको भिनाजुको घर पनि केही पर देख्न सकिन्थ्यो । हाल बजार क्षेत्रका घरहरुलाई सुन्तले रङ्गमा परिवर्तन गरेर सुन्तले बजार (अरेञ्ज सिटी) को रुपमा रुपान्तरण गर्दै एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नतिर लागेको पाइयो धनकुटा बजारलाई । त्यसपछि हामी सुन्तले सिटी क्षेत्र पार गर्दै बस पार्क पुग्यौँ । त्यहाँ टहराहरुमा विभिन्न किसिमका बस्तुहरुको व्यापार भए तापनि हाम्रा मनहरुलाई भने रहर लाग्दा सुन्तला र एभोकाडोले तान्यो र हामीलाई पनि किनौ किनौ लाग्यो । काठमाडौँमा करिब ५०० प्रति किलो पाइने एभोकाडो त्यहाँ भने जम्मा २५० प्रति किलोका दरले किनियो । ज्वलिताको भिनाजुले सुन्तला किनेर ल्याउनु भयो र खायौँ । वास्तवमा मेरो विचारमा गोरखाको सुन्तलाभन्दा पनि मीठो लाग्यो । धनकुटा बजार धनकुटा जिल्लाको सदर मुकाम भएकोले चहलपहल रामै्र देखिन्थ्यो तापनि पहिलाजस्तो नभएको कुरा बताउनुभयो ज्वलिताको भिनाजुले ।
त्यसपछि हामी धरानतिर अगाडि बढ्यौँ । धनकुटा र भेंडेटारको बिचतिर नमस्ते झरना भए तापनि पाँच बजेनै बन्द हुनेभएको र हामी त्यस क्षेत्रमा पुग्दा रात नै परेकोले भोली आउने योजना बनाएर नागबेली उकाली चढ्दै लाग्यौँ भेंडेटारतिरको उकालो । भोक पनि लागेकोले खाजापानी खायौँ पियौँ । केही समय भेंडेटार बजार पनि परिक्रमा ग¥यौँ । बेहुली झै सिँगारिएको भेंडेटारको रातिको दृश्य झनै मनमोहक थियो बत्तिहरुको झिलिमिलि उज्यालोले धपक्क उठेको थियो बजार । वास्तवमा भेंडेटारको विकास मेरो कल्पनाभन्दा बाहिरको थियो ।
त्यसपछि हामी भेंडेटार छाडेर नागबेली बाटो ओरालो के झर्दै थियौँ उता भेंडेटारको दक्षिण फेदिमा अवस्थित धरान बजार त महिलाले गलामा लगाउने हिराको हार जस्तै झल्किराखेको अतिनै मनमोहक र सुन्दर रात्रीकालीन दृश्यले हामी सबैको मन निकै नै लोभ्याएकोले एकछिन गाडी रोकेरै धरान बजारको मनोरम दृश्यहरुको दृश्यावलोकन गरियो (फोटो ५) । आसपासमा केही दम्पतिहरु पनि रमाइरहेका देखिन्थे । हामीे उनीहरुलाई देखे पनि नदेखेको झैँ गरी विस्तारै ओरालो झर्दै अगाडि बढ्यौँ र केही समयमा धरान बजारको भानुचोकमा विश्राम लिन पुग्यौँ ।

फोटो ५ ः भेंडेटारबाट धरानतर्फ जाँदा लिएको हिराको हारजस्तो धरान बजारको फोटो

भनुचोक फराकिलो, सफासुग्घर र आकर्षक थियो । बीचमा आदिकवी भानुभक्तको सालिक थियो र उनकै नामबाट भानुचोक राखिएको रहेछ । धरानबासीले आदिकवी भानुभक्तको पहिचानलाई प्रोत्साहित गर्दै र स्वस्फूर्त रुपमा हुर्काउदै आएका रहेछन् । आफ्नो भाषा तथा संस्कृतिलाई संरक्षण गर्दै जानु भनेको एक अनुशासित तथा सभ्य समाजको पहिचान दिनुपनि हो जस्तो लाग्छ मलाई । भानुचोकमा चारैतिरका घरहरु विभिन्न किसिमका बत्तिहरुले सजिएकोले निकै नै झलमल थियो । त्यहाँ भएको घडी टावरले भने त्यहाँको रौनक अझै बढाएको थियो । त्यहाँको परिस्थिति हेर्दा लाग्दथ्यो कि हामी नेपालभन्दा पनि युरोपको यात्रा गरिरहेका छौँ । त्यसैले, मलाई लाग्यो कि यस्तो ठाउँ छाडेर किन मानिसहरु अन्यत्रै पलायन भएका होलान् ?
पहिला त बेलायती लाहुरेहरुको थातथलो रुपमा चितपरिचित नेपालको एकदम विकसित धरान बजार जब उनीहरु बेलायततिर स्थानान्तरण गरे त्यसपछि धरान बजारको रौनकमा निकैनै कमी आएको भन्छन् त्यहाँका स्थानीयहरु । हुन पहिला मैले पनि त्यस्तै कुरा सुनेको थिएँ । त्यसपछि, त्यहाँका नेवार समुदायका व्यापारीहरुको संख्या पनि घट्दै गएछ र हिजो आज त धरान बजारको मुख्य बजारिक केन्द्रहरु सबै माडवारीहरुको कब्जामा भएकोले त्यहाँको अर्थतन्त्रको निर्णायक भूमिकामा पनि उनीहरु नै पर्दारहेछन् । सायद, विदेशमा बस्ने वा नेपालकै अन्य क्षेत्रमा स्थानान्तरण भएर गएका धरानबासीहरुको मनमा कहिले काहिँ त गल्ति पो गरेछु कि भन्ने सोँच आउँछ होला जस्तो लाग्दछ । किनकि, मलाई पनि जन्मथलो छाडेर काठमाडौँ बस्दाको अवस्थामा पनि त्यस्तै पिरलो हुन्छ । त्यसैले, आफू जन्मेहुर्केको ठाउँमा केही गर्न सकिन्छ कि भनेर निकै प्रयास गर्दै आएँ र आइरहेको पनि छु । तर परिस्थिति सोँचेजस्तो नभएकोले संघर्षमय नै छ । हेर्दै जाउँ कहाँसम्म पुग्न सकिन्छ ।
त्यसपछि, हामीले त्यो दिनको यात्रालाई बिट मार्दै लाग्यौँ घरतिर, जहाँ हामीलाई प्रतिक्षा गरिबसिरहनुभएको थियो । घरमा खाना पाकिसकेको रहेछ । एकछिनको विश्रामपछि ज्वलिताको तता (दिदी) र ममीबाट तयार गरिएको मिष्टान्न भोजन लिइयो । त्यसको साथमा लक्ष्मीले थकाइ कम गर्ने रस पनि । गाडिचालक भाइलाई भने ज्वलिताको दाइ र भिनाजुले पहिलेनै स्थानीय सोमरसको चुस्कीमा दिनभरिको थकाइलाई दूर गराउन सहयोग गर्नुभएछ । गाडिचालक भाइ अति मिजासिला र शान्त स्वभावका व्यक्तित्व थिए, त्यसैले पनि यात्रा निकै नै आनन्दमय भयो ।
खानापछि एकछिन घर व्यवहार र भ्रमणको बारेमा छलफल भयो । त्यसै क्रममा ज्वलिताको तताको छोरीको नृत्यले मन यति तान्यो कि सीमा रहेन । उनले गीतको शब्द अनुसारको शरीरको भागहरुको हाउभाउ निकै नै प्रसंशनीय थियो । त्यसैले, एउटा गीतमा गरेकी नृत्यको त रेकर्ड नगरी बस्नै मनले मानेन । त्यसपछि उनलाई तालीम लिएकी छौ कि छैनौ भनेर मैले सोध्दा उनले छैन भनिन् । वास्तवमा तालीम नलिँदा त उनको नृत्य एक पेशेवर नृत्याङ्गनाको जस्तो गुणस्तरमा खोट लाउने ठाउँ नै भेटिन भने यो उमेरदेखिनै उनले तालीम लिएर अगाडि बढेमा उज्वल भविष्य देखेको छु । रातपनि छिप्पिँदै जान लागेकोले हामी बिछ्यौनातिर लाग्यौँ ।
वास्तवमा आजको यात्राले पूर्ण सफलता पाउन नसके तापनि यात्रा रमणीय नै बन्यो । मिलन श्रेष्ठ र अमिर उदासको उपस्थितिले यात्रा निकै नै सहज र ज्ञानबर्धक पनि रह्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु