
–शिव अधिकारी
प्राणीमा जति सूक्ष्मता छ गतिमा स्वभाव संसर्गमा
जातीमा अनि त्राश आश सबको देखिन्छ संयोगमा
खानु लाउनु बास बस्नु सबको जिवन्तको माग हो
यस्तो जानी सुयोग्य बन्न सबले बाटो बनाउ नु हो ।। १ ।।
त्यै होस् मार्ग सुरक्ष शान्त दुनिया यात्रा गरुन शानले
यो संसार सुरम्य बन्दछ यसै संस्कार संम्मानले
कालो त्राशली ढाकि दिव्य नभमा पानी भरि बादल
झर्नाको लहराउदौ चमकमा नाच्ने बजे मादल ।। २ ।।
मुर्चुङ्गा सहनाईको मधुरिमा गुञ्जेर यो आँगनी
सांग्रिला लहराउदैछ कविको दौडन्छ यो लेखनी
आउ सुन्दर शान्त देश गतिलो रच्ने लिई पौरख
बाँच्नु पर्दछ सर्बश्रेष्ठ युगमा लाई हसिलो मुख ।। ३ ।।
धोई स्वच्छ बनाउ विक्रिति सबै ज्ञानी सबै बन्दछन
पृथ्वीको बलशाली सौर्य महिमा विरत्व झल्काउछन
कैल्यै हार्नु परेन जे जति लडे यो भूमि रक्षार्थमा
आफ्नो ज्यान दिएर धर्ति झरिलो पारे विना स्वार्थमा ।। ४ ।।
भन्छन मानिस स्वार्थमा लुटुपुटु गर्नेहरु हार्दछन
निःस्वार्थी बनि मातृभूमि गतिलो पार्ने सबै वीरहुन
त्यस्तो स्वच्छ सफा सुमर्ग सबले सिर्जेर हिड्ने गरौँ
यो धर्ति अति नै पवित्र छ बुझि रक्षा यसैको गरौँ ।। ५ ।।


