
कतार । गण्डकी प्रदेश समन्वय परिषद् कतारले रक्तदान कार्यक्रम गर्ने भएको छ । परिषदले कतारको सरकारी हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
रगत अभावको कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ आउँदो फेब्रुअरी ११ तारिख शुक्रबार गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको परिषद्ले जानकारी दिएको छ ।
रक्तदान गर्नको लागि कतारमा लगातार ६ महिनाभन्दा बढी अवधि बसोबास गरेको हुनु पर्नेछ भने रक्तदान पूर्व पछिल्लो २४ घण्टा कुनै पनि मदिरा सेवन नगरेको र वैद्य कतारी आइडी कार्ड साथमा हुनु पर्ने प्रावधान रहेको छ ।
रक्तदान गर्नु जीवन दान गर्नु सरह भएको हुँदा कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाहरू, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरूलगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन परिषदले आग्रह गरेको छ ।


